धनगढी : यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ । सुर्मा गाउँपालिका(५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको बिहीबार बिहान करिब ७ बजे मृत्यु भएको हो । उनी धौलढुङ्गामा भन्ने स्थानमा हिउँमा चिप्लिएका थिए । बुधबार मात्रै श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा बिहीबार बिहान ५ बजे धौलढुङ्गा पुगेका थिए ।
बिहान यार्सा संकलनका लागि हिँडेका बोहरा एक्कासी हिउँमा चिप्लेको र घटनास्थलमै ज्यान गएको स्थानीय दिपेश दमाइले बताए । घटनास्थल सुर्मा गाउँपालिकाबाट एक दिनको दुरीमा पर्दछ । घरमा दुइवटा साना छोरा छिमेकीको भरमा छोडेर बोहरा दम्पती यार्सा संकलनका लागि निस्केका थिए ।