धनगढी। सुदूरपश्चिममा एमालेले विश्वासको मत दिन तयार नहुँदा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सदनबाट विश्वासको मत लिन र सरकार विस्तार गर्न सकेका छैनन् ।
विश्वासको मत लिने प्रयोजनका लागि यसअघि आह्वान भएका तीनवटा बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री नियुक्त भएको तीन सातासम्म मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको छ । विश्वासको मत लिनका लागि अझै मिति तय भएको छैन्। मुख्यमन्त्रीमा समर्थन गरेको नेकपा एमालेकै कारण मुख्यमन्त्री सोडारीलाई विश्वासको मत आर्जन गर्न सकस भइरहेको हो।
तत्काल एमालेले विश्वासको मत दिन तयार नहुँदा मुख्यमन्त्री सोडारीले सदनबाट विश्वासको मत लिन र सरकार विस्तार गर्न सकेका छैनन् । ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका सोडारी विश्वासको मत लिन अलमलमा पर्दा एमाले तयार नभएपछि ‘गाँठो फुकाउने’ प्रयास गर्न काठमाडौं गएका छन् । एमालेसँग विभिन्न चरणमा वार्ता भए पनि विश्वासको मत तत्काल दिन आनाकानी गरेपछि एमालेलाई फकाइदिन आग्रह गर्न उनी काठमाडौं गएका हुन् ।
आफ्नै समर्थनमा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत दिन एमाले तयार नहुनुले सत्ता गठबन्धनभित्र आशंका बढिरहँदा बिहीबार उनले प्रधानमन्त्रीसँग छलफल गरेका थिए । तत्काल विश्वासको मत लिने विषयमा प्रधानमन्त्रीले गठबन्धनमा समस्या नभएको भन्नुभयो । एमालेसँग सल्लाह गर्छु भन्नुभएको छ । (आज) शुक्रबार सम्ममा विश्वासको मत लिने दिन समय तय गर्ने कुरो छ ।’’२० वैशाखमा विश्वासको मत लिने तयारी गरेका थिए ।
त्यसका लागि अपराह्न साढे ५ बजे प्रदेश सभा बैठक पनि आह्वान गरिएको थियो, तर एमालेले विश्वासको मत दिन आनाकानी गरेपछि बैठक २१ गतेलाई सारियो । मुख्यमन्त्रीले छलफलविनै विश्वासको मत लिन लागेको भन्दै एमालेले मत नदिने अडान लिएपछि विश्वासको मतकै लागि २१ र २२ वैशाखमा डाकिएका प्रदेश सभाका बैठक पनि बस्न सकेनन् ।एमालेले आनाकानी गरेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएपछि सुदूरपश्चिमका एकीकृत समाजवादीका सांसद तथा नेताहरू काठमाडौं गएका हुन् ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भने मुख्यमन्त्री सोडारीसँग आवश्यक छलफल नभएको र केन्द्रीय नेतृत्वसँग छलफल नभएकोलगायतले विश्वासको मत दिन समय लागेको बताए । विश्वासको मत दिन ४ जेठसम्मको समय रहेकाले आफूहरूले पर्खिएको उनको दाबी छ ।विश्वासको मत दिन अझै समय रहेकाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा हतार नगरौँ भनेको बताए । यो अलमत केन्द्रमा गठबन्धनमा केही समस्या जस्तो देखिएकोले भएको हो, हामीकहाँ तल समस्या छैन । केही दिनमै विश्वासको मत दिने समय तय हुन्छ ।
’’उनले विश्वासको मत दिने समय बाँकी रहेको बताए पनि एमालेका एक सांसदका अनुसार ‘माथिकै निर्देशनमा यो सबै भएको’ बताउँछन् । एमाले विश्वासको मत दिन तयार नहुनुको अर्थ सोडारीलाई मुख्यमन्त्रीमा नरुचाएको र विश्वासको मत दिनैपर्ने बाध्यात्मक अवस्थामा पनि एकीकृत समाजवादीलाई गलाउन चाहेको कतिपय नेताहरू बताउँछन् । एमालेले यसमा आनाकानी गर्नुमा यसले गठबन्धनमै गम्भीर संकट उत्पन्न हुन थालेको स्पष्ट भएको कतिपयको तर्क छ । नेताहरू भन्छन्, ‘‘यो माथिकै समस्या हो । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको इगो पनि एउटा प्रमुख कारण हो । माथि छलफल भएर जे निर्देशन आउँछ हामी त्यो मान्ने हो ।’’माओवादी संसदीय दलका उपनेता अक्कल रावलले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे गठबन्धनमा अनौपचारिक छलफल भइरहे पनि मिति भने तय नभएको बताए।
मुख्यमन्त्रीले छलफल नै नगरी विश्वासको मत लिने मिति तय गरेको, बझाङको उपनिर्वाचनबाट निर्वाचित सदस्यले शपथ नलिएको र केन्द्रमा पार्टी नेतृत्वसँग छलफल नभएको भन्दै एमालेले मत दिन आनाकानी गरेको हो। एमाले अहिले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिन केही दिन कुर्ने पक्षमा छ। गठबन्धनबिच न्यूनतम साझा कार्यक्रम र सत्ता सञ्चालनमा सहमति हुन बाँकी नै छ।एमाले, माओवादी, नागरिक उन्मुक्ति र एकजना स्वतन्त्र सांसदको समर्थनमा गत ६ वैशाखमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । आगामी ५ जेठसम्म उनले प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ । गत १८ वैशाखमा बसेको बैठकले गठबन्धनको बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने निर्णय गरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकारमा सहभागी हुने एमाले, माओवादीको तयारी छ । सरकारमा अहिले नागरिक उन्मुक्तिबाट मात्र दुईजना मन्त्री छन् । अहिले नै विश्वासको मत लिएर सरकार विस्तार गर्ने योजनामा रहेका मुख्यमन्त्री सोडारीले अब अर्को महिना विश्वासको मत लिने बताइएको छ ।