धनगढी। कैलालीको गौरीगङ्गामा डमरुसहितको बाघ देखिएको छ । कैलालीको गौरीगङ्गा नगरपालिका–९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा डमरु हुर्काउनका लागि पोथी पाटेबाघ देखा परेको हो। बाघको चोरीसिकारी हुन नदिन र बाघबाट मान्छेलाई जोगाउन सुरक्षा सतर्कता बढाइएको छ ।
डिभिजन वन कार्यालय पहलमानपुरले डमरुसहितको बाघ देखा परेपछि बाघ र मान्छेको सुरक्षाका लागि निगरानी बढाएको जनाएको छ । वसन्ता कोरिडोर अन्तर्गत पर्ने गौरीगङ्गा नगरपालिका–९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा एक हप्तादेखि डमरुसहित बाघ घुमिरहेको अवस्थामा भेटिएको हो ।
चोरीसिकारीबाट बाघको सुरक्षा र बाघबाट मान्छेको सुरक्षाका लागि उच्च सतर्कता बढाएको डिभिजन वन कार्यालय प्रमुख रामविचारी ठाकुरले बताए । भारतको दुधुवा नेसनल पार्कमा रहेका पोथी बाघ बच्चा हुर्काउन बर्सेनि वसन्ता कोरिडोरसम्म आइपुग्ने गरेको बताइन्छ । बाघका लागि डमरु (बच्चा) हुर्काउनका लागि वसन्ता वन उपयुक्त रहेकाले पोथी बाघ भारतबाट नेपाल आउने गरेको ठाकुरको भनाइ छ ।
पहलमानपुर क्षेत्रका स्थानीय गोठाला तथा प्रत्यक्षदर्शीले बाघसँग दुई वटा बच्चा रहेको बताएका छन् । सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले डमरुसहितको बाघ हरियाली वनमा देखा परेको खबर पाए पनि आधिकारिक रूपमा पुष्टि गर्ने काम भइरहेको बताए ।
उनले हामी खोजीमा जाँदा बाघ कराइरहेको रहेको र पाइलाको छाप पनि स्पष्टै देखिएको बताए । उनले खतरनाक बाघ बच्चा हुर्काउने बेला झन् हिंस्रक हुने गरेकाले पाइला हेरेर फकिएको र वन क्षेत्र नजिकका बस्तीमा सतर्कता अपनाउन आग्रह गरेका छन्। डमरुसहित बाघ आएको पुष्टि भएपछि सामुदायिक वन समन्वय समितिले सो क्षेत्रमा मान्छेलाई वन क्षेत्रमा नजानका लागि सूचना जारी गरेको छ ।केही वर्षअगाडि सो क्षेत्रमा आएको बाघले स्याउला काट्न जङ्गल पसेकी एक महिलाको ज्यान लिएको थियो । पछि चोरीसिकारीले उक्त बाघलाई मारेको सुन्नमा आएको अध्यक्ष सापकोटाले बताएका छन् ।