बैतडी। बैतडी र बझाङमा डढेलोमा परेर ३ महिला घाइते भएका छन्। बैतडीको दशरथचन्द नगरपालिका– १ का ४६ वर्षिया धोली भुल र ४५ वर्षीया मानवती भुल जलेर घाइते भएकी हुन्।
बैतडीको दशरथचन्द नगरपालिका–१ धेउमडा नजिकै वनमा घाँस काटीरहेका महिला जंङ्गलबाट आएको डढेलोमा परि घाइते भएका हुन्। अवस्था भने मध्यम रहेकोमा उनीहरुको जिल्लामा सामान्य उपचार पश्चात थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको बैतडी प्रहरीले जनाएको छ। यस्तै
बझाङमा पनी आगोमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बित्थडचिर गाउँपालिका –६ की ४६ वर्षिया बेलमती देवी धामी जलेर घाइते भएकी हुन्। बित्थडचिर गाउँपालिका–६ कचडास्थित करौल सामुदायिक वनमा लागेको डढेलो धामीको घर नजिकैको खरमा सल्किएको थियो।
खरमा सल्किएको आगो नियन्त्रणमा लिने क्रममा उनको दुबै हात र खुट्टा जलेर घाईते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ। अहिले घाइते धामीको प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ।