धनगढी : पछिल्लो समय मानव स्वास्थ्यमा क्यान्सर रोगको संक्रमण बढ्दो छ । क्यान्सरको संक्रमण हुने बित्तिक्कै थाहा पाए यो रोग सजिलै निको हुन सक्छ । तर यसको अन्तिम स्टेजमा बिरामी अस्पताल पुग्ने हुदाँ अकालमै ज्यान गुमाउनु परेको छ । क्यान्सर हुनुका कारण र यसको उपचार बारे हामीले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाण्डौँका अध्यक्ष तथा क्यान्सर रोग बिषेशज्ञ डा.सुदिप श्रेष्ठ संग कुराकानी गरेका छौँ ।
डक्टर क्यान्सर कसरी हुन्छ ?
क्यान्सरलाई समाजमा ठुलो ज्यानलेवा रोगको रुपमा लिने गरिन्छ, तर त्यसो होइन, यो दीर्घ रोग हो । हाम्रो शरिर बिभिन्न कोसिकाहरु मिलेर बनेको हुन्छ । ति बिभिन्न कोसिकाहरु मध्ये कुनै एक कोसिका क्यान्सरको रुपमा परिणत हुन्छ, यो कुनै बन्साणुगतपनि हुन सक्छ । असख्ंय कोसिकाहरुमध्ये एउटामा क्यान्सर लाग्यो भने, त्यसबाट दोश्रो, तेश्रो हुँदै शरिरभरी पुगेर अन्तिम अवस्थाम्म पुग्छ । समयमै क्यान्सरको उपचार नभए यसले ज्यान समेत लिन सक्छ । यसलाई हामीले क्यान्सर भनेर बुझ्छौँ ।
नेपालमै क्यान्सरको कतिसम्म उपचार सम्भव छ ?
आजका दिनमा नेपालमा कुनैै यदाकदा बाहेक सम्पुर्ण उपचार सम्भव छ र भइरकेको छ । क्यान्सर रोग अली जटिल खालको रोग भएका कारण अरु रोगको उपचार भन्दा उपचार अली महगोंनै पर्छ । यसमा धेरै बिषेशज्ञको आवश्यक्ता लामो समयसम्म उपचार गराइरहनुपर्ने र यसको औषधी महगाें पर्ने हुँदा उपचारमा बढी खर्च हुने गर्छ । क्यान्सरको रोग अनुसार ५ देखी १० लाख भित्र नेपालमै उपचार भइरहेको छ ।
हाल कस्तो प्रकारको क्यान्सरका बिरामी बढि छन् ?
ससांर भरी बढे संगै नेपालमापनि यसको सक्रंमण बढिरहेको छ । नेपालमा फोक्सोको क्यान्सरका बिरामी बढि छन् । महिलाहरुमा स्तन क्यान्सर बढि देखिएको छ । त्यसपछि महिलाको पाठेघरको क्यान्सर, पेटको, नाक, कान घाँटी, आन्द्रा लगायतको क्यान्सरका बिरामी आउने गरेका छन् । नेपालमा प्रायजसो क्यान्सर धेरै मानिसमा भइरहेको छ ।
क्यान्सरको कुन स्टेजसम्म बिरामी पुगिरहेका छन् र कुन स्टेजसम्मको उपचार सम्भव हुन्छ ?
क्यान्सर शुरुकै अवस्थामा पत्ता लाग्यो भने सजिलै निको हुन्छ । क्यान्सरका बारेमा धेरैलाई थाहा छैन, यसका लक्षण बारे थाहा छैन, त्यस कारण केही समस्या भएपनि अरु उपचारमा केन्द्रित हुनुहुन्छ । रोग पत्ता लाग्दासम्म ढिलो भइसकेको हुन्छ । शुरुको अवस्थामा क्यान्सरको कुनै लक्षण नहुनपनि सक्छ, त्यस कारण हामी सबैले बर्षमा एक पटक सम्पुर्ण शरिर जाच गर्न आवश्यक छ । यसमा ३० बर्ष पछि बढी हुने भएकाले सो उमेर नाघेकाले बढी सजक हुनुपर्छ । बच्चामा हुदैँन भन्ने होइन बढी ३० बर्षपछि हुन्छ । परिवारका सदस्यहरुलाई क्यान्सर रोग छ भने अन्य सदस्यहरुले बढी सजगता अपनाउनुपर्छ, जाँच गर्नुपर्छ समयमै रोग पत्ता लागे सहजै उपचार सम्भव छ । यस कारण समाजमा जनचेतना जगाउनपनि जरुरी छ ।
खानपानका कारणपनि क्यान्सर हुन्छ ?
सुर्तिजन्य बस्तु र अल्कोहलले बढी मात्रामा क्यान्सर हुन्छ । यो मात्रै होइन हामीले दैनिक खाने पिउने कुराले र लाइफ स्टाइललेपनि क्यान्सर लाग्न हुन्छ । बच्चादेखीनै हामीले खानेकुरालाई दैनिक मिलाएर खान सक्यो भने, शारिरिक ब्यायाम गरेमा क्यान्सरबाट जोगिन सकिन्छ । अत्याधिक मात्रामा माशुजन्य पदार्थ खाने मानिसलाई क्यान्सर हुन सक्छ त्यस कारण सफा साकाहारी खाना बिषेशगरी फलफुल, गेडागुडी र हरियो साग खानपर्छ । समाजमा फेसनको रुपमा चलेको छ अहिले, जगं फुड, सुकुटी, अचार, बढी चिल्लो लगायत खाने कुराहरुले बढी क्यान्सर भएको पाइन्छ । धेरै नुन सेवन, ढुसी परेको अन्नले पेट तथा लिभरको क्यान्सर हुन सक्छ, मिसावट भएको खाद्य पदार्थ, प्लास्टिक बोतलमा राखेका खाद्य पदार्थ सेवनलेपनि क्यान्सर हुनसक्ने सम्भावना हुन्छ । बच्चा उमेरदेखीनै सही खानपान गर्न सके ५० प्रतिशत क्यान्सर कम गर्न सक्छौँ ।
नेपाल क्यान्सर हस्पिटलमा कुन स्टेज सम्मको उपचार सम्भव छ ?
हेर्नुस हाम्रो नेपाल अधिकाशं भारत सगंको सिमा जोडिएको क्षेत्र छ । यस कारण सामान्य केही हुदाँ उपचारका लागी भारत जाने प्रबृती बढि छ । त्यहाँ ठगिने सम्भावना उत्तिकै बढी हुन्छ । भारत भन्दा निकै कम मुल्यमा नेपालमै हामी उपचार सेवा दिन्छौँ, नेपालमै उपचार सेवा लिदा सरकारले एक लाख सम्मको उपचार खर्च समेत ब्यहोर्ने गरेको छ । नेपाल क्यान्सर हस्पिटल पब्लिक हस्पिटलका रुपमा बिगत ८ बर्षदेखी काठमाण्डौँमा सञ्चालित छ । निजि क्षेत्रको पहिलो क्यान्सर हस्पिटल हो यो । हामीसंग थुप्रै बिषेशज्ञ चिकित्सक छन्, हामी सगं भएको जनशक्ती र उपकरणले हामी के भन्छौँ भने अहिलेको अवस्थामा क्यान्सरको उपचारका लागी बाहिर जान आवश्यक छैन, हामी नेपालमै त्यो सेवा दिइरहेका छौँ ।
बाहिर भन्दा उपचार खर्च कति सजिलो छ ?
क्यान्सरको उपचार नेपालमा सबैभन्दा सस्तो छ । नेपाल र भारतको तुलना गर्दा नेपाल भन्दा भारतमा तिन गुणा महगों उपचार छ । त्यस कारण उपचार गर्दा नेपालमै गरौँ र समय समयमा स्वास्थ्य चेकजाँच गरिराखौँ ।