इलाम। इलाम-२ मा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । गौतम बुद्ध सभागृह (सिटी हल) मा सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको हो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतगणनाका क्रममा आउनसक्ने समस्या समाधानका लागि सबै दल र स्वतन्त्र उम्मेदवारबीच सहमति भएपछि मतगणना सुरु गर्ने निर्णय भएको बताए । निर्वाचन आचारसंहिता र मतगणनासम्बन्धी कार्यविधिलाई टेकेर सहमति गराइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए।
शनिबार सबै मतपेटिका नआइपुगेका कारण सर्वदलीय बैठक आज बसेको हो ।मतपेटिका संकलन शनिबार राति २ बजेमात्रै सकिएको थियो । मतगणना सिटी हलमै हुनेछ । इलाम-२ का एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोट अनुसार यो ६० प्रतिशत हो । इलाम-२ मा दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।