धनगढी। गुरगी सिँचाई आयोजना अलपत्र परेको भन्दै कैलारी गाउँपालिकाका स्थानिय उपभोक्ताहरू विरोधमा उत्रिएका छन्। विभिन्न बहानामा करोडौं बजेटको सिँचाइ योजना तुहाउन खोजिएपछि उपभोक्ताहरुले प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय घेराउ गरेका हुन् ।
सिँचाइ आयोजना निर्माणका लागि दबाब स्वरुप संघर्ष समिति, स्थानीय, उपभोक्ता समिति, भल्मन्सा, बडघरसहितका किसानहरुले मन्त्रालय घेराउ गर्न पुगेका हुन् । कैलालीको कैलारी गाउँपालिका २ स्थित गुरगी सिँचाइ योजना निर्माणमा सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले बहानाबाजी गर्न थालेको भन्दै स्थानीय निरास छन् ।
१२ करोड बजेट विनियोजन गरिएको परियोजनामा काम नै शुरु नभएपछि करिब ६ हजार बढी किसानको खेतको गरा–गरामै सिँचाइ पुग्ने आशा मर्दै गएको छ ।कैलाली गाउँपालिका ५ का स्थानीय रेवन्त बोहराले कर्मचारी संयन्त्रले आफूखुसी योजनालाई असफल घोषित गरेर जनता सपनमाथि गद्दारी गरिरहेको बताए । उनले चालु अवको बजेट फिर्ता गए आफूहरू जस्तो सुकै सङ्घर्ष गर्न तयार रहेको बताउँदै काम नगर्ने सिँचाइ विकास डिभिजन कार्यालय कैलाली, मन्त्रालयका सम्बन्धित कर्मचारीको राजीनामा समेत माग गरे ।
कैलाली गाउँपालिका ५ की अबरानी चौधरीले किसानहरुलाई सिचाँई सुबिधा नहुँदा बिभिन्न समस्या भोग्नुपरेको बताइन् । पानीको धेरै समस्या समयमै खेती गर्न सकिदैन, सिजन अनुसार खेती उत्पादन नहुँदा किसानले घाटा बेर्होछन् । जसरी पनी हामीलाई सिचाई सुबिधा हुनुपर्यो उनले भनिन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ बाट सिँचाइ आयोजना निर्माणका लागि बजेट विनियोजन गर्दै आएको भएपनि कार्यान्वयन नभएको भन्दै स्थानीयले मन्त्रालय घेराउ गरेका हुन् । संघर्ष समितिका संयोजक कमलप्रसाद चौधरीले आर्थिक वर्ष २०७५/७६ मा ५० लाख, आर्थिक वर्ष २०७९/८० मा ६ करोड र चालु आर्थिक वर्षका लागि १२ करोड बजेट विनियोजन गरिएको भएपनि ठेक्काको प्रक्रियामा नगएको बताए। उनले बजेट कार्यान्वयन भएको नभएको बताए ।
कैलारी गाउँपालिको वडा नम्बर १, ५ र ७ का भल्मन्सा, राजनीतिक दलहरुका प्रतिनिध र जनप्रनिधिसहितको संघर्ष समिति बनाएर सिँचाइका हाकिम, मन्त्रालयका सचिव र मन्त्री ज्यूलाई डेलिगेसनसमेत दिइसकेको उनले बताए । यसैबिच किसानहरूले भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीलाई योजना कार्यान्वयन लागि अल्टिमेटमसहितको माग पत्र बुझाएका छन् । योजना कार्यान्वयन नभए चरणबद्ध रूपमा सङ्घर्षको कार्यक्रम गर्ने गुरगी योजना सङ्घर्ष समितिका संयोजक कमल प्रसाद चौधरीले चेतावनी दिए ।
संघर्ष समितिका संयोजक चौधरीले हस्ताक्षर अभियान, एसएमएस अभियान र धर्नाको कार्यक्रमसमेत गरिएको बताए । १२ करोडको आयोजना कार्यान्वयन नभए सात हजार किसान मन्त्रालयमा ल्याउने चेतावनी समितिले दिएको छ । पटक–पटक प्रदेश सरकारले सिँचाइ आयोजना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने तर, ठेक्काको प्रक्रिया सुरु नगर्ने भन्दै स्थानीयले संघर्षका कार्यक्रम गर्दै आएका छन्। जिल्लाकै नमुना रहेको सो योजनाबाट दक्षिणी क्षेत्रका करिब ६ हजार बढी किसानकोे गरा–गरामै सिँचाइ पुग्थ्यो । तर २०६४ सालमा आएको बाढीले योजनाको बाँध भत्कायो, किसानले सिँचाइ सुविधा पाउन छोडे ।
१ हजार ४ सयभन्दा बढी हेक्टर जमिनमा सिँचाई नहुँदा आकासे पानीको भर पर्नु पर्ने बाध्यता यति वेला छ । डिपिआर गरेर बजेट बिनियोजन भएपनि कार्यान्वयन नभएपछि किसान आन्दोलनमा छन् । प्रदेश सरकारले ६ करोड रुपैयाँ बजेट विनियोजन ग¥यो । त्यो पनि पछि फिर्ता भयो । सिँचाइ डिभिजन कार्यालय कैलालीका डिभिजन प्रमुख अमर बहादुर पालले गुरगी सिँचाइ योजना निर्माणमा सरकारले बजेट दिएपनि डिपिआरका लागी मात्रै बजेट आउँदा काम गर्न समस्या भएको बताए । गत आर्थिक वर्षमा योजनाको डीपीआर तयार पारी भौतिक विकास मन्त्रालयमा स्वीकृतिको लागि पेश गरेपनि काम अगाडी नबढेको र यो बर्ष फेरी प्रक्रिया अगाडी बढेको बताए ।