काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् ।
इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका कतारी शेख तमिम बिन हमाद अल थानीसँग शीतलनिवासमा भएको औपचारिक भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले उनलाई विपिन जोशीबारे कुरा उठाएका थिए।
सो क्रममा कतारी शेखले कतारले जोशीको खोजी तथा रिहाइको लागि पहल गरिरहेको बताएको राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले जानकारी दिए।उनले भने, ‘राष्ट्रपतिज्यूले विपिन जोशीको रिहाइको लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो। सो क्रममा कतारी राजाले कतारले पहल गरिरहेको जानकारी दिनुभएको थियो।’गत वर्ष असोज २० गते इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए ।
हराएका विपिन कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका हुन्। हमासको आक्रमणपछि इजरायली डिफेन्स फोर्स आईडीएफले भिडिओ सार्वजनिक गर्दै विपिनलाई प्यालिस्टिनी विद्रोही समूह हमासले नियन्त्रणमा लिएर गाजातर्फ लगेको बताएको थियो।महेन्द्रनगरका विपिनलाई हमासले अपहरण गरेर लगेको उनका साथीहरूले घरमा म्यासेज पठाएका थिए।‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी गत वर्ष भदौ अन्तिम साता इजरायल गएका थिए।
हमासका आक्रमणकारीले गोली बर्साउँदा विपिन साथीभाइसँगै थिए। पहिलोपटक प्रहार गरिएको बम विपिनले समातेर बंकरभन्दा बाहिर फालेका थिए। दोस्रोपटकको बम भने बंकरमै विस्फोट भएको थियो।विपिनले गत असोज १९ गते शुक्रबार परिवारसँग कुराकानी गरेका थिए। त्यस क्रममा उनले आमासँग खाना खाइरहेको बताएका थिए। आक्रमणबारे केही नबताएको परिवारले बताएको छ।भोलिपल्ट शनिबार दिउँसो १२ बजेतिर दाइ किशोरसँग विपिनले भिडिओ कलमा कुरा गरेका थिए।
‘आक्रमण हुनसक्ने भएकाले बंकरमा लुक्न सूचना जारी भइरहेको छ’ भनेर विपिनले किशोरसँग भनेका थिए। त्यसपछि विपिनको अवस्था अज्ञात छ।यसबाहेक राष्ट्रपति पौडेलले भेटमा नेपालको विकासको लागि कतारले सिकेको पाठ अनुकरणीय रहेको बताएका थिए।त्यस्तै राष्ट्रपति पौडेल र कतारी राजाबीच जलवायु परिवर्तन, फिफा विश्वकपमा नेपालीको योगदानबारे चर्चा भएको थियो।