कञ्चनपुर। कञ्चनपुरको दोधारा चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाह आयोजना अघि बढ्न सकेको छैन।
दोधारा चादँनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर मध्यवर्ती वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव भइ विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेपनी जग्गा प्राप्तिमा भइरहेको ढिलाइका कारण आयोजना अघि बढ्न नसकेको हो । जसमा जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने भएपनी त्यो प्रक्रिया अघि नबढेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा फाइल अघि बढाए पनि केन्द्रबाट उक्त विषयले किनारा पाउन ढिलाइ भइरहेको जनाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले निकुञ्जले वन विभागमा जग्गा प्राप्तिको फाइल पठाइसकेको बताए । कार्यकारी निर्देशक गजुरेलले फाइल विभागबाट मन्त्रालय जानुपर्ने त्यहाँ अलि समय लागिरहेको बताए । वन मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेश भएर काम भएपछि भारतलाई हामी तयार भयौँ भनेर भन्ने उनले बताए ।
भारतले निर्माण गर्ने सुक्खा बन्दरगाह अघि बढाउन भारतीय पक्षबाट चासोका साथ सक्रियता देखाएको उनको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत भइसकेको बताउँदै निर्देशक गजुरेलले जग्गा प्राप्तिको विषय चाँडो अघि बढाउनुपर्नेमा जोड दिए । भारत निकै चासो दिएर लागेको र हामीलाई पनि भारतीय पक्षले चाँडो प्रक्रिया सकेर ठेक्का लगाउँने भनिरहेको बताए । गत जेठमा भारत भ्रमणका क्रममा सुक्खा बन्दरगाह निर्माणले उच्च प्राथमिकता दिँदै भारतले आगामी तीन वर्षमा बनाइदिने सहमतिपत्रमा हस्ताक्षर गरेको थियो ।
दोधारा चाँदनी नगरपालिकाको गौरीशङ्कर र मायापुरी सामुदायिक वन क्षेत्रको ६३ बिघा क्षेत्रफल प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको छ । जग्गा प्राप्ति र सो क्षेत्रमा रहेका दुई हजार रुख कटानका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने उनले बताए । तर अहिले पनि विज्ञसहितको टोलीले प्रस्तावित स्थलको स्थलगत अनुगमन गरेको उनले जानकारी दिए । करिब छ अर्ब लागतमा चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण हुनेछ ।
सोही सुक्खा बन्दरगाहको करिब एक किलोमिटर वर महाकाली नदीमा चार लेनको पक्की पुल र छ लेनको पहुँच मार्गसमेत निर्माण भइसकेको छ । पहिलो चरणमा सडक पहुँच र दोस्रो चरणमा रेलवेको पहुँचका लागि पूर्वाधार निर्माण गरिने योजना छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सुक्खा बन्दरगाह निर्माणका लागि जग्गा उपलब्ध गराउने विषयमा सबै प्रक्रिया पूरा गरेर फाइल विभागमा पेस गरिसकेको बताए । उनले एक महिनाअघि नै फाइल पेस गरिसकेको बताए ।