बझाङ। बझाङ प्रदेश सभा १ मा यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरू मतदातालाई फकाउन बेस्त रहेका छन् ।
निर्वाचनको मिति नजिकिएसँगै दलका नेता कार्यकर्ता तथा उम्मेदवारले घरदैलो भेटघाट र निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन मुख्य दलका केन्द्रीय स्तरका नेताहरू बझाङ पुग्ने क्रम बढेको छ। दलका नेता कार्यकर्ता तथा उम्मेदवार जनमत आफ्नो पक्षमा पार्न विभिन्न रणनीति तथा नारा बोकेर गाउँबस्तीमा पुगेर निर्वाचन सरगर्मी बढेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदै छ । नेपाली कांग्रेसका उम्मेदवार तथा स्व। सिंहका छोरा अभिषेकबहादुर सिंह सेतो वस्त्रका साथ सान्त्वनास्वरूप मत मागिरहेका छन् ।
उनले घर घरमा पुगेर विकासका एजेन्डाका साथै आफ्ना बुवाले गर्न नसकेका अधुरा कामलाई निरन्तरता दिनेमा जोड दिएका छन् । उनीसँगै चर्चित देउडा गायक नन्दकृष्ण जोशी पनि देउडा गाउँदै सिंहलाई भोट माग्दै हिँडिरहेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार दमन भण्डारी गाउँ गाउँमा आफ्ना एजेन्डासहित मतदातालाई रिझाइरहेका छन् । उनलाई समेत निर्वाचनको प्रचारप्रसार गर्न भ्याइनभ्याइ भएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक बुढा, नेकपाएकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंह, राप्रपाका उम्मेदवार किशोर खड्कालगायतका नेता चुनाव प्रचारप्रसारका लागि गाउँमा गाउँमा पुगेका छन् ।
उम्मेदवारसँगै राजनीतिक दलका जिल्लास्तरीय नेता तथा कार्यकर्ता मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय रूपमा लागिरहँदा उपनिर्वाचन अलि रोचक हुने देखीएको छ । बझाङमा राम्रो प्रभाव राख्ने स्व पृथ्वीबहादुर सिंहका छोरा अभिषेक युवाका बिच लोकप्रिय छन् भने एमालेका जिल्ला अध्यक्षसमेत रहेका भण्डारी पनि एमालेको सङ्गठन राम्रो भएका कारण बाजी मार्ने दाउमा रहेका छन् । संविधान सभा सदस्य एवं माओवादी केन्द्रबाट उम्मेदवार जनक बुढा पनि जिल्लाकै प्रभावशाली नेता छन् । उनलाई व्यावहारिक मत पाउने आशा छ । एमाले उम्मेदवार भण्डारी र माओवादी उम्मेदवार बुढा छबिसपाथीभेरा गाउँपालिकाका बासिन्दा हुन् । सो पालिकाको मत विभाजन हुने आशङ्का गरिएको छ । एकीकृत समाजवादीका केन्द्रीय नेता एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीसमेत सोही पालिकाका हुन् ।
सङ्घीय मन्त्री जोशी पनि जिल्लाको लोकप्रिय नेता हुनुका साथै सोही पालिकाको भएका कारण समाजवादी पार्टीसमेत जित आफ्नो पक्षमा आउने गरी लागिरहेका छन् । यसलाई एमालेको पनि राम्रो पकड भएको क्षेत्रका रूपमा लिने गरिएको छ । एमालेका पूर्वजिल्ला अध्यक्षसमेत रहेका समाजवादीका उम्मेदवार दिलबहादुर सिंह आफूले चुनाव जित्ने दाउमा रहेका छन् । कांगे्रस उम्मेदवार अभिषेक र समाजवादीका उम्मेदवार दिलबहादुर जयपृथ्वी नगरपालिकाको एउटै वडाका बासिन्दा हुन् । एमालेको समेत राम्रो प्रभाव भएको यस नगरपालिकामा समाजवादीका उम्मेदवार सिंहले एमालेको मत काट्ने आकँलन गरिएको छ । गएको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित स्व। सिंहले १७ हजार ११२ मत ल्याएका थिए ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । २०४८ सालयता यो क्षेत्रमा चार पटक एमाले र तीन पटक कांग्रेसले विजय हाँसिल गरेको थियो । सात वटा स्थानीय तह भएको उपनिर्वाचनमा चार वटा गाउँपालिकामा कांग्रेस विजयी भएको छ भने एउटामा माओवादी केन्द्र र दुई वटामा एमाले विजयी भएको छ । सङ्घ र प्रदेशमा झैँ स्थानीय तहमा पनि कांग्रेस, माओवादी र समाजवादी मिलेर चुनाव लडेका थिए ।