धनगढी। सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीले गरेको दाबीमा नागरिक उन्मुक्ति पार्टीका पाँच जना सांसदले समर्थन नरहेको प्रदेश प्रमुखलाई जानकारी गराएका छन्। लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुखलाई जानकारी गराएका छन्।
बिहीबार एकीकृत समाजवादीका सोडारीले एमाले, माओवादी, नाउपासहितको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेलगत्तै नाउपाको असन्तुष्ट पक्षले आफूहरूको समर्थन नरहेको जनाएको हो । उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरीनिकट हुन्। कांग्रेस संसदीय दलका नेता तथा काम चलाउ मुख्यमन्त्री कमलबहादुर शाहको साथमा नाउपाका ५ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन्।
पाँचजना सांसदहरूले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाएका छन्। नाउपाको बहुमत पक्ष कांग्रेससँगको गठबन्धनमा रहेकाले सोडारीको दाबीप्रति असहमति जनाएको हो । योसँगै सोडारीको दाबी विवादमा परेको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले भने आफू नै दलको नेता रहेको भन्दै सनाखतका लागि प्रदेश प्रमुखको कार्यालयमा बसेका छन्।
नाउपा अध्यक्ष श्रेष्ठले केही दिनअघि घनश्याम चौधरीलाई दलको नेताबाट हटाउँदै तीन महिनाका लागि पार्टीबाट समेत निलम्बन गरेकी थिइन्। नाउपाका ७ सांसदमध्ये कांग्रेससँग लक्ष्मणकिशोर चौधरीसहित ५ जना छन् भने कैलाश चौधरीसहित २ जना, एमाले, माओवादीसहितको गठबन्धन नजिक छन् । एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका ४, नाउपाका ७ गरी ३१ सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा सोडारीले दाबी पेस गरेका छन् । तर नाउपाका ५ जनाले असहमति जनाएपछि सोडारीको दाबीमाथि प्रश्न उठ्न पुगेको छ।