काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ ।
नेपाली कांग्रेसका नेता डा. नारायण खड्काको निवासमा देउवा र नेपाल बीच बुधबार बेलुका भेटवार्ता भएको हो । साँझ ६ बजेदेखि करिब डेढ घण्टा दुई नेता बीच संवाद भएको स्रोतले जानकारी गराएको छ । छलफल मुख्य गरी सुदूरपश्चिम सरकारका बारेमा केन्द्रित थियो ।कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गल्फुटारमा बुधबार साँझ भेटवार्ता भएको एक नेताले जानकारी दिए।
‘सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्रीमा एमालेले समर्थन नगरे कांग्रेसले समर्थन गर्ने गरी कुरा भएको छ,’ बैठक स्रोतले भन्यो । केन्द्रीय सरकारमा नयाँ समीकरण बनाउन सकिने बारे पनि कुरा भएको छ ।सत्ता गठबन्धनमा सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय भएको छ । एकीकृत समाजवादीले प्रदेशका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
सोडारीका पक्षमा भने एमाले देखिएको छैन । ‘उहाँहरूबीच सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा देखिएको समस्याबारे कुराकानी भएको हो। त्यस्तै कोशी प्रदेशमा देखिएको समस्याबारे पनि छलफल भयो,’ कांग्रेसका ती नेताले भने, ‘वैकल्पिक समीकरणका विषयमा पनि कुराकानी भएको छ।’ यसअघि फागुन २१ गते नयाँ गठबन्धन बनेको भोलिपल्ट माधव नेपाललाई भेट्न देउवा उनको निवासमै गएका थिए। बिरामी भएर स्वास्थ्यलाभ गरिरहेका नेपालसँग त्यतिबेला कांग्रेसहितको नयाँ समीकरण बनाउन देउवाले आग्रह गरेका थिए।
सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्दैछन्। तर नेकपा एमालेले उनलाई समर्थन गरिसकेको छैन। यस्तो अवस्थामा भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।प्रदेश सरकार गठन लगायतका विषयमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल गठबन्धनसँग रुष्ट छन्। त्यही असुन्तुष्टिका कारण एकीकृत समाजवादीले कांग्रेससमेतलाई साथ लिएर नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो। नेकपा एमाले, माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टीकै कैलाश चौधरीलाई मुख्यमन्त्रीका रूपमा समर्थन गर्दै दाबी पेश गरेका थिए। प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबी खारेज गरी नयाँ सरकार गठनका लागि गरेको आह्वानको समयसीमा पनि आज साँझ सकिँदैछ।