धनगढी। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदै छ। प्रदेश प्रमुख नाजिर मियाले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिंदैछ ।
प्रदेश प्रमुख नजिर मियाँले मङ्गलबार दुई दिने समयसीमा दिएर वैशाख ६ गतेसम्म नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दावेदारी गर्न आह्वान गरेका थिए । तर अहिले सम्म मुख्यमन्त्रीको दावेदारी प्रस्तुत हुन सकेको छैन्। यसअघि सोही धारालाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान भएकोमा नागरिक उन्मुक्तिका दुई जना सांसदहरू लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले बेग्ला बेग्लै समर्थक जुटाएर दाबी पेश गरेका थिए ।
मंगलबार विहान प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं सत्ता गठबन्धन दलभित्र छलफल गरेर एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन समझदारी गरेपछि प्रदेश प्रमुख मियाँले पहिलेका दाबी खारेज गरेर नयाँ आह्वान गरेका हुन् ।केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमलबहादुर शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ।
सत्तारूढ गठबन्धनभित्र भएको सहमति अनुसार एकीकृत समाजवादीले संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई अघि सारेको छ तर एमालेले उनलाई विवादित पात्र भन्दै मुख्यमन्त्रीका रूपमा समर्थन गर्न नसकिने अडान लिएको छ । यसरी दलहरूको आन्तरिक विवाद र खिचातानीका कारण सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री चयनमा विलम्ब भएको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ । हाल नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुख सहित ११, एमालेका १०, नाउपाका ७ छन् । त्यस्तै एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।