धनगढी। कैलालीमा अदालतबाट दोषी ठहर भई फरार रहेका ४ जना पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका चारै जना प्रतिवादीलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए। पक्राउ पर्नेमा चेक अनादर मुद्दामा, कुटपिट मुद्दा, बहुविवाह मुद्दा,लागूऔषध मुद्दाका प्रतिवादी छन्।
चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका धनगढी वडा नम्बर १५ का ३३ वर्षीय नरसिंह चौधरी, कुटपिट मुद्दामा ५ हजार जरिवाना ठहर भएका धनगढी वडा नम्बर १५ का ४५ वर्षीय भानु चौधरी, बहुविवाह मुद्दामा १ वर्ष २ महिना ८ दिन कैद सजाय ठहर भएका घोडाघोडी नगरपालिका–९ का ४१ वर्षीय हरिलाल भण्डारी र लागूऔषध मुद्दामा १ महिना १० दिन कैद सजाय ठहर भएका जानकी गाउँपालिका–६ का २७ वर्षीय ललित कडायत रहेका छन्।
पक्राउ परेका चारै जना प्रतिवादीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।