कञ्चनपुर। कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार एक सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ।
“उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका मङ्गलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने भएको छ।” कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, “भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदै छ।”
मङ्गलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन्। “स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रुपमा बन्द रहनेछन् ।” उनले भने “त्यसका लागि भारतको चम्पावतमा रहेको मजिष्टे«टले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ।” यस्तै बैतडीको झुलाघाट नाका आज मङ्गलवारदेखि बन्द हुने भएको छ। भारतमा अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ।
लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने जिल्ला अधिकारी शर्माले बताए। सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो। सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।भारतमा काम गर्ने विशु पर्वका लागि घर आएका कामदारलाई आवत जावतमा समस्या हुने देखिन्छ ।