काठमाडौँ। सामाजिक सञ्जालको दुरूपयोग गरेर चरित्रहत्या गरेको अभियोगमा रश्मिला धामी पुनः पक्राउ परेकी छिन। प्रहरीले आइतबार व्यक्तिको चरित्रहत्या गरेको अभियोगमा धामीलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइब ब्यूरोका प्रवक्ता एसपी दीपक राज अवस्थीले जानकारी दिए ।
रश्मिलाले फेसबुक लाइभ मार्फत विभिन्न व्यक्तिका बारेमा अनावश्यक टिकाटिप्पणी गर्दै आएकी थिइन। अनेरास्ववियुकी एक नेतृत्को जाहेरीका आधारमा ब्यूरोले बझाङ बुङ्गल नगरपालिकाकी २८ वर्षीया धामीलाई काठमाडौंको टोखाबाट वैशाख २ गते पक्राउ गरेको हो । एसपी अवस्थीले धामीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बताएका छन।
धामी यसअघि साइबर अपराधकै मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएकी थिइन। जिल्ला अदालतको सजायँ समेत धामीले भुक्तान गर्न बाँकी रहेको स्रोतले बतायो । जिल्ला अदालत काठमाडौंले गत फागुन ३० गते रश्मिला धामीलाई साइबर अपराधमा दोषी ठहर गर्दै ७ दिन कैद,३० हजार जरिवाना र पीडितलाई डेढ लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो। सो फैसलाको पूर्ण पाठ नआउँदै रश्मिलाले सामाजिक सञ्जालमार्फत पुनः आपत्तिजनक ढंगले विभिन्न व्यक्तिहरूको नाम लिएर चरित्रहत्या गरिरहेको प्रमाण ब्यूरोमा पुगेको छ । यसअघि धामीले नै अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमविरुद्ध पनि बिभिन्न झुटा आरोप लागाउदै अपराधिक लाभ लिएको भन्ने जाहेरी दिएर एक दिन पक्राउ गराएकी थिइन ।