धनगढी। कांग्रेसले सुदूरपश्चिम मुख्यमन्त्री नियुक्तिबारे प्रदेश प्रमुखसँग समन्वय गर्न प्रतिनिधि खटाएको छ। सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा ढिलाइ हुन थालेपछि आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले प्रदेश प्रमुख नजिर मियाँसँग समन्वय गर्न प्रतिनिधि खटाएको हो ।
बैठकमा सहभागी एक सांसदकाअनुसार प्रदेश प्रमुख मियाँसँग वार्ता गर्न काम चलाउ मुख्यमन्त्री एवं दलका नेता कमलबहादुर शाह र प्रमुख सचेतक विक्रमसिंह धामीलाई जिम्मेवारी दिइएको हो । आइतबार मात्रै कांग्रेस, नाउपा (रेशम), समाजवादी र राप्रपाको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरी दाबी पेस गरिएको छ।
अर्कोतिर, एमाले, माओवादी, स्वतन्त्र सांसद र नाउपा(रञ्जिता) को समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गरेका छन् । फरक–फरक दलको समर्थनमा एकै दलबाट मुख्यमन्त्रीमा दोहोरो दाबी परेपछि प्रदेश प्रमुखले कानुनी परामर्श र अध्ययन गरेर मात्रै निर्णय लिने बताएपछि मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएको हो ।