धनगढी। सुदूरपश्चिम प्रदेश सरकार गठन प्रक्रिया अन्यौलता भएको छ । प्रदेश प्रमुखको कार्यालयले सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय १० दिनभित्र अर्थात् बैशाख २ गतेसम्मका लागि तोकिए भएपनी अहिलेसम्म कुनै पार्टीले दाबी पेस गर्न सकेका छैनन्।
प्रदेश प्रमुख नजिर मिँयाले मुख्यमन्त्रीमा दाबी पेस गरेको पाँच दिन बितिसकेको छ । संविधानको धारा १६८ को २ अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई बैशाखको २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका थिए । कमल बहादुर शाहले २०८० साल चैत २२ गते बिहीबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । तर सरकार गठनमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक बिवादले नयाँ सरकार गठन अन्योलग्रस्त बनेको हो।
गठबन्धन दलहरूलाई नागरिक उन्मुक्ति पार्टीले एकजुट भई सहयोग गरेमा मात्र सरकार गठन सहज हुन्छ। सरकार गठनको आह्वान समय घर्किदाँ पनि निर्णायक मानिएको नाउपाभित्रको विवाद चुलिदैं जाँदा गठन प्रक्रिया अन्यौलमा परेको हो ।नाउपाभित्रको विवादले प्रदेश सरकारको गठनमा जोड घटाउ गरिरहँदा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको किचलोले समस्या सिर्जना गरेको हो । पार्टी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गर्न पत्र पठाएपछि सभामुख भीम भण्डारीले सुचना टाँस गरिसकेका छन् ।
त्यस्तै, संसदीय दलका नेता घनश्याम चौधरीले दलको निर्देशन पालना नगरेकोले उनलाई हटाएर कैलाश चौधरीलाई संसदीय दलको नेता तोकिएको पत्र प्रदेश सभामा पठाएपछि विवाद अझै बढेको छ ।यता संसदीय दलको विधान अनुसार आफू नै संसदीय दलको नेता रहेकोले पार्टीले हटाउन नपाउने घनश्यामको दाबी छ ।अध्यक्ष रञ्जिताको तर्फबाट संसदीय दलका नेता बनेका कैलाशले भने यस बारेमा कुनै प्रतिक्रिया दिन मानेनन् ।
यसअघि पनि नाउपाको विवादले विभिन्न समस्या सिर्जना गरिरहेकोमा संसदीय अभ्यास अनुसार अघि बढ्न नेपाली कांग्रेस संसदीय दल र नाउपाका रेशम पक्षधर नेताहरूले सभामुख भीम भण्डारीलाई भेटेर सुझाव दिएका छन् ।नाउपाले गिरीलाई गरेको कारबाही सभामुख भण्डारीले सदर गरेपछि उनीहरूले संयुक्त रूपमा भेटेर ध्यानाकर्षण गराएका छन् ।सभामुख भण्डारीले भने नाउपाको विवादको विषयमा प्रष्ट पारेका छन् । कानुन अनुसार समानुपातिक सांसद पठाउने र फिर्ता बोलाउने अधिकारसम्बन्धित दलको केन्द्रीय समितिलाई हुने र गिरीको हकमा सोही अनुसार निर्णय लिएको बताए ।
तर, संसदीय दलको नेता परिवर्तन गरेको जानकारी आफूलाई प्राप्त भएपनि सांसदले दलको नेता चयन गर्ने कुरामा आफू प्रष्ट रहेको हुँदा कानुनी सल्लाह अनुसार निर्णय लिने बताए ।नाउपाभित्रको विवाद मिलाउन रेशम चौधरीको उपस्थितिमा धनगढीमा पार्टीका सांसदहरूसँग छलफल जारी छ । चौधरीसहित सुदूरपश्चिमका ६ सांसद छलफलमा जुटेका छन् ।यस्तै पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरीको उपस्थितिमा बुधवार धनगढीमा बसेको प्रदेशसभाका सदस्यको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्नेबारे छलफल गरेको छ। नाउपाकै नेतृत्वमा सरकार गठन गर्ने विषयमा समझदारी भएको नाउपाका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए । उनले भने, “बहुमत पुग्ने गरी हामी सरकारको नेतृत्व गर्ने प्रयास गर्दैछौँ, जुन पक्षसँग बहुमत जुटाउन सहज हुन्छ, उसैको सहयोगमा सरकार गठनगर्ने कुरा भएको छ।”
दलको साझा धारणा बनाउने गरी छलफल अगाडी बढिरहेको केहि नेताले दाबी गरेपनि अहिलेसम्म कुनै उपलब्धि हुन सकेको छैन ।नयाँ सत्ता गठबन्धनका दलहरू नेकपा एमाले, माओवादी केन्द्र, नाउपा र नेकपा एकीकृत समाजवादी मिल्दा सरकार गठन गर्न सहज हुने देखिन्छ ।नेकपा ९एकीकृत समाजवादी० पार्टीका प्रदेशसभा सदस्य प्रकाश रावलले केन्द्रमा बनेको समझदारीअनुसार सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा समाजवादी पार्टीकै नेतृत्वमा सरकार गठन हुने विश्वास व्यक्त गरे। उनले भने, “सरकार गठबन्धन दलकै नेतृत्वमा बन्छ, पहिलो नेतृत्व कसले गर्ने भन्ने कुरा मात्रै हो।” प्रदेश सभामा एमालेका सभामुखसहित ११, माओवादीका १०, नाउपाका ६ र एकीकृत समाजवादीका ४ सांसद छन् । स्वतन्त्र एक सांसद पनि सत्ता गठबन्धनमै रहने देखिन्छ । यहाँ २७ सांसदबाट बहुमतको सरकार गठन हुन्छ ।