बझाङ। आगामी वैशाख १५ गते हुने बझाङ क्षेत्र नम्बर १ मा उपनिर्वाचनका लागि गठबन्धन दल आपसमा भिड्ने भएका छन् । बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ का लागि विभिन्न दलबाट १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।उपनिर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ ।
यसपटक बझाङ–१ मा हुन लागेको उपनिर्वाचन रोचक हुने देखिन्छ । गत चुनावमा जित आफ्नो पक्षमा निकाल्न अनेकन् तिकडमसहित गठबन्धन गरेका दलहरू अहिले तितरबितर छन् । गठबन्धनकाबीच अघिल्लो चुनावमा कांग्रेस–एमाले आमनेसामने भएका थिए । आ–आफ्नै उम्मेदवार उठाएपछि योपटक भने कांग्रेस, एमालेसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारबीच प्रतिस्पर्धी हुने देखिन्छ ।
नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंह, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर जाग्रीको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट जनक बहादुर बुढा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिएका छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्टले उम्मेदवारी दर्ता गरेकी छिन् । नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोर कुमार खड्काले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए । बझाङमा सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गरेका उम्मेदवार विरुद्ध आज बिहान १० बजेदेखि ३ बजेसम्म विरुद्ध उजुरी दिने, दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ ।
चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ भने वैशाख १५ गते मतदान गर्ने कार्यसूची रहेको छ ।गत ५ असारमा सवारी दुर्घटनामा परी सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । अघिल्लोपटक गठबन्धनको सहारामा विजयी भएको कांग्रेस योपटक एक्लो छ । उसलाई गत चुनावझैं जित निकाल्न मुस्किल पर्नेछ । कांग्रेसको मुख्य प्रतिद्वन्द्वी एमालेलाई पनि सहज छैन । एमाले बझाङ हाँकिसकेका सिंह एकीकृत समाजवादीबाट चुनावी मैदानमा होमिसकेका छन्, जसले एमालेलाई पनि जित निकाल्न कठिन छ । माओवादीबाट युवा नेता बुढा पनि प्रचारप्रसारमा जुटिसकेका छन् । विगतका निर्वाचनको नतिजा हेर्दा माओवादीलाई पनि बझाङ–१ मा जित निकाल्न सहज देखिँदैन ।