बझाङ। आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ मा हुने निर्वाचनका लागि १२ सय सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी प्रहरी परिचालन गरिएको जानकारी दिए ।
निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकोले दुई सङ्गठनका प्रहरी निर्वाचनमा प्रयोग हुने कुइँकेलले जानकारी दिए ।निर्वाचन क्षेत्रभित्र रहेको मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । उपनिर्वाचनका लागि आज बझाङ प्रदेशसभा १ मा उम्मेदवारको मनोनयन दर्ताको काम भइरहेको छ ।
बझाङ १ को (क)बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा एकै दिन उपनिर्वाचन हुन लागेको हो। निर्वाचन आयोगका अनुसार मनोनयनपत्र दर्ता आज साँझ ५ बजेसम्म उम्मेदवार दर्ता गर्न समय तोकिएको छ। आयोगले आज बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन गर्ने जनाएको छ।
बझाङको प्रदेशसभा उपनिर्वाचनका लागि कांग्रेसले अभिषेकबहादुर सिंह, एमालेबाट दमन भण्डारी ,नेकपा माओवादी केन्द्रबाट जनक बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह उम्मेदवार बन्ने भएका छन्।आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ। निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने कार्य तालिका छ। बझाङमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ।