कैलाली। रेशम चौधरी पक्षीय नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताहरूको भेला काठमाडौँमा बसिरहेको छ। हिजो र आज बस्ने भेलाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने बताइएको छ ।
प्रदेश सरकारमा सहभागी हुनुपर्ने मत बलियो रूपमा आएको नाउपाका एक नेताले बताए। तर, कुन गठबन्धनको सरकारमा सहभागी हुने र कसरी जाने भन्ने विषयमा कुनै निर्णय नभएको सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।‘सरकारमा सहभागी हुने भन्ने कुरा भएको छ तर, कुन गठबन्धनमा कसरी जाने भन्ने निर्णय गरिएको छैन ’ उनले भने ‘आज यस विषयमा टुङ्गो लाग्छ । ’
आज ११ बजेदेखि रेशम पक्षका नेताहरू पुनः बैठकमा बस्दै छन् । त्यसले सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा टुङ्गो लगाउने चौधरीले बताए। यसअघि कांग्रेस नेतृत्वको सरकारमा नाउपा रेशम पक्षका पाँच जना नेता मन्त्री थिए । कुल ७ मध्ये पाँच जनालाई मन्त्री बनाउँदा पनि बहुमत पु¥याउन नसकेपछि कांग्रेसका कमल बहादुर शाहले राजीनामा दिएका थिए। अहिले प्रदेश प्रमुखले १० दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन्।
नाउपामा रेशम पक्षका नेताहरूबीच सरकारमा जाने विषयमा एक मत भए पनि कुनसँग जाने टुङ्गो लागेको छैन। यता अध्यक्ष रन्जिता श्रेष्ठ पक्षले नयाँ सत्ता गठबन्धन अनुसार नै सरकारमा सहभागी हुने जनाएका छन्।त्यस्तै प्रथम महाधिवेशनमार्फत निर्वाचित कमिटी अद्यावधिक गर्ने गरी निर्वाचन आयोगमा पुनः रेशम पक्षीय नेताहरूले दबाब दिने भएका छन् । तत्काल निर्वाचन आयोगमा पत्र पठाउने सहमति भएको एक नेताले बताए। गुटबन्दी अन्त्य गरे पार्टी बलियो बनाउने गरी अघि बढ्न कार्यकर्ताहरूले नेताहरूलाई सुझाव दिएका थिए ।