बझाङ। बझाङमा एसईई परीक्षा दिन गएका विद्यार्थीहरू बिच झडप भएको छ । एसइइको अन्तिम दिन शुक्रवार परीक्षा दिएर बाहिर निस्किएपछि तीन वटा परीक्षा केन्द्रका विद्यार्थीहरू बिच झडप भएको प्रहरीले जनाएको छ।
झडप हुँदा ४ जना घाइते भएका छन्। बझाङको खप्तड छान्नाको खप्तड मावि कालुखेती, मष्टाको कुल मष्टजन मावि भातेखोला र दुर्गाथलीको चौधारी मावि केन्द्रबाट परीक्षा दिएर फर्केका केही विद्यार्थीहरू बिच झडप सहित खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
खप्तडछान्ना गाउँपालिका-५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिने पाटादेवलका १७ वर्षीय खप्पिस थापा कुटिएको प्रहरीले जनाएको छ। थापामाथि धारिलो हतियारले प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिए। आक्रमण गर्ने मध्ये एक जना पक्राउ परिसकेको र अन्यको पनि खोजी भइरहेको उनले बताए।
यस्तै दुर्गाथली गाउँपालिका-१ मौरीबगडस्थित चौधारी मावि जुँजी परीक्षा केन्द्रमा पनि परीक्षार्थीबीच झडप भएको छ। कुटपिटमा परी छविसपाथिभेरा गाउँपालिका-१ का १८ वर्षीय अभिषेक भण्डारी र खप्तडछान्ना गाउँपालिका-२ का १८ वर्षीय विमल बोगटी घाइते भएका छन। भण्डारी र बोगटीलाई कुटपिट गर्नेहरूलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ। यस्तै मष्टा गाउँपालिका-६ भातेखोलास्थीत कुलमष्टजन माविको परीक्षा केन्द्रमा पनि एक परीक्षार्थी कुटिएका छन। परीक्षा दिएर बाहिर निस्किने क्रममा १७ वर्षीय मुन्न बोहरामाथि कुटपिट भएको प्रहरीले जनाएको छ। कुटपिटको कारण नखुलेको र, यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिएका छन् ।