काठमाडौं। आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा–१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिनुपर्ने छ ।
दुबै क्षेत्रको उपनिर्वाचनका लागि आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समेत तोकिएको हो । भोलि उम्मेदवारको सूची र २७ गते अन्तिम नामावली प्रकाशन गर्ने तथा चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि दल र उम्मेदवारले चुनावी अभियान थालिसकेका छन् ।
निर्वाचन आयोगले इलाम– २ को प्रतिनिधि सभा र बझाङ १ को प्रदेश सभा उपनिर्वाचनका लागि मतदानस्थल पनि तोकेको छ । आयोगले इलाम २ का लागि ७९ मतदान स्थल र १ सय ४९ मतदान केन्द्र तोकेको हो । त्यसैगरी बझाङमा प्रदेश सभा निर्वाचनका लागि ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकेको छ । इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ र बझाङमा ६१ हजार ७ सय ४८ मतदाता रहेको पनि आयोगले जनाएको छ।