धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन्। विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्री शाहले राजीनामा दिने भएका हुन्। मुख्यमन्त्री शाहले आजै विश्वासको मत लिने कार्यतालिका थियो।
मुख्यमन्त्री शाहको आग्रहमा दिउँसो ३ बजेलाई बोलाईएको बैठक ५ बजेसम्म सारिएको थियो । नेपाली काँग्रेस स्रोतका अनुसार मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका हुन्।विश्वासको मत दिने नदिने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र चर्को मतभेद भएको र स्वतन्त्र सांसदले समेत विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्। उनले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने उनको सचिवालयले जानकारी दिएको थियो।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए । एक महिनासम्म नागरिक उन्मुक्तिबाट विश्वासको मत पाउने आशामा रहेका मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना क्षीण भएको थियो । नागरिक उन्मुक्ति पार्टी, राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत पाउने आशामा मुख्यमन्त्री शाह थिए।
तर, नागरिक उन्मुक्ति पार्टीले मत नदिने भएपछि राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले पनि मत नदिने भएका हुन। सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक पर्छ।