बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धनसंगै नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए । यस बीचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए ।
बहुमत जुटाउन असफल भएपछि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्दै उनले प्रदेशको विकास र समृद्धिका लागि अब बन्ने सरकारलाई गुण र दोषका आधारमा समर्थन र आलोचना गर्ने बताए । चौधरीको राजीनामासंगै नयाँ सरकार गठनको बाटो खुलेको छ । गठबन्धनको भागबण्डामा लुम्बिनी सरकारको नेतृत्व पाएको माओवादीले नयाँ सरकार बनाउन दलहरूसँग छलफलमा जुटेको छ ।
माओवादी केन्द्र लुम्बिनीका दल नेता जोखबहादुर महराले भोलि नै शपथ लिने गरी तयारीमा लागेका छन् । यसअघि २०७९ साल पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा महरा करिब तीन महिना अर्थमन्त्री बनेका थिए ।नयाँ गठबन्धनले सरकारको नेतृत्वका लागि अन्य साना दलहरुसँगको छलफल गरी भागबण्डा लगाइसकेको स्रोतको दावी छ । सत्ता साझेदार दलहरु नेकपा एमाले, माओवादी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच लिखित समझदारीपत्र तयार भएको र बिहीबार नै हस्ताक्षर गर्ने स्रोतको भनाइ छ ।