डोटी। डोटीमा सौताको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । डोटीको बडीकेदार गाउँपालिका–२ की ३७ वर्षीया यमुना घर्तीमगरले स्थानीय ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्तीमगरकी जेठी श्रीमती दुर्गा टकेनाखोलामा रहेको पानीघट्टभित्र मृत फेला परेकी थिइन्। उनी यही चैत १२ गते दिउँसो घट्ट जान्छु भनेर घरबाट निस्किएकामा नफर्किएपछि खोजी गर्दा चैत १३ गते बिहान घट्टभित्र मृत फेला परेकी थिइन्।
मृतककी भाइबुहारी डम्मरी थापामगरले चैत १४ गते मृतकी कान्छी सौता यमुना घर्तीमगरको नाममा कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकी यमुनामाथि जिल्ला अदालत डोटीबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यमुनाले ढुङ्गा, हँसिया र बञ्चरो टाउँकोमा प्रहार गरी दुर्गाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण सिं नेगीले बताए। जिल्ला प्रहरी कार्यालयले सो सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ।