काठमाडौं। निर्वाचन आयोगले आगामी बैशाख १५ गतेका लागि तय भएको प्रदेश सभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । आयोगले बझाङ प्रदेश सभा १ मा उपनिर्वाचनका लागि चैत २२ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत तोकेको हो।
आयोगले जिल्ला अदालत बझाङमा कार्यरत जिल्ला न्यायाधीश सुदर्शन लामिछानेलाई बझाङको मुख्य निर्वाचन अधिकृत तोकेको हो। यही चैत २२ गते जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।
उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ गते उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन अन्तरगत प्रदेश सभा निर्वाचनमा भाग लिन १९ दल दर्ता भएका छन्। निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा पुर्याइने आयोगले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ।