धनगढी। सुदुरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म सडक दुर्घटनाबाट धेरैले अकालमा ज्यान गुमाएका छन् । सुदुरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएदेखी ७ महिना अवधीसम्ममा १ सय ४ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालय काठमाण्डौँले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा सो अवधीसम्ममा दुई सय २८ दुर्घटना भएका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल बताए । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुर्घटनाका कारण एक हजार तीन सय तीन जनाले अकालमा ज्यान गुमाएका छन्। चालु आवको साउनदेखि माघ मसान्तसम्म सवारी दुर्घटनाबाट तीन हजार छ सय ४३ यात्रु गम्भीर घाइते भएका छन् भने १५ हजार सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार चालु आवमा चालकको लापरवाहीबाट चार हजार तीन सय ४५, तीव्रगतिका कारण एक हजार नौ सय ४८, मादक पदार्थ सेवनका कारण चार सय ७५, यान्त्रिक गडबढीका कारण ६४, ओभरटेकका कारण ७६, सडकको अवस्थाका कारण १३ र अन्य कारण ९७ दुर्घटना भएका छन्। नेपालमा सवारी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् भने हजारौँ व्यक्तिहरु अङ्गभङ्ग तथा घाइते हुने गरेका छन् ।
सडक दुर्घटनाबाट गत पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले अकालमा ज्यान गुमाएका छन् भने २७ हजार सात सय २६ व्यक्ति गम्भीर घाइते भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सबैभन्दा धेरै मधेस प्रदेशका इान गुमाउने बढी छन् । मधेस प्रदेशमा मात्र साउनदेखि माघ मसान्तसम्म दुई सय ९० जनाले ज्यान गुमाएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल बताए । यस्तै, लुम्बिनी प्रदेशमा दुई सय ६१,कोशी प्रदेशमा दुई सय १९, बागमती प्रदेशमा एक सय ७३,गण्डकी प्रदेशमा एक सय, काठमाडौँ उपत्यकामा ९६ र कर्णाली प्रदेशमा ६० जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन्।
सोही अवधिमा २३ हजार पाँच दुर्घटना भएका छन्। दुर्घटना भएकामध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ११ हजार छ सय १९, मधेस प्रदेशमा पाँच हजार ८०, कोशी प्रदेशमा दुई हजार आठ सय ३०, बागमती प्रदेशमा एक हजार दुई सय २१, लुम्बिनी प्रदेशमा नौ सय २९, कर्णाली प्रदेशमा आठ सय छ, गण्डकी प्रदेशमा दुई सय ९२ दुर्घटना भएको प्रहरी प्रवक्ता ढकाल बताउँछन् ।
प्रहरीका अनुसार आव २०७६/७७ मा दुई हजार दुई सय ५१, आव २०७७/७८ मा दुई हजार पाँच सय, आव २०७८/७९ मा दुई हजार आठ सय ८३ र आव २०७९/८० मा दुई हजार तीन सय ६८ ले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । यस्तै आव २०७६/७७ मा चार हजार छ सय १५, आव २०७७/७८ मा छ हजार चार सय ४८, आव २०७८/७९ मा सात हजार दुई सय ८२ र आव २०७९/८० मा पाँच हजार सात सय ३८ जना सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका छन् । सडक सञ्जाल थपिएसँगै नेपालमा पछिल्लो समय सवारी दुर्घटनासमेत बढ्दै गएको छ। सडक दुर्घटनाका कारणमा मानवीय कारण, सवारीसाधनको अवस्था, सडकको अवस्था, सडक प्रयोगकर्ता र मौसमको कारण रहेको बताइएको छ ।
नेपालमा हुने सवारी दुर्घटनाका कारणमध्ये सवारी चालकको कारण ८८ दशमलव ३५ प्रतिशत दुर्घटना हुने गरेको छ । यस्तै सवारीसाधनको कारण दुई दशमलव ५९ प्रतिशत, यात्रुको कारण चार दशमलव २० प्रतिशत, सडकको अवस्थाका कारण चार दशमलव १२ प्रतिशत र मौसमका कारण शून्य दशमलव ७४ प्रतिशत दुर्घटना हुने गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सवारी चालकको शारिरीक र मानसिक अवस्था, ट्राफिक नियमको पालना गर्ने प्रवृत्ति र चालकको दक्षता र सीप दुर्घटनासँग प्रत्यक्ष सम्बन्धित रहने बताउँछन् ।