कैलाली। माओवादी सिनियर केन्द्रीय सदस्यहरूको छलफलमा प्रदेशको सहईन्चार्ज बिना मगरलाई बनाएको प्रति विवाद उत्पन्न भएको छ । फागुन १६ गतेको स्थायी समितिको बैठकले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गिरिराजमणि पोखरेल र सहईन्चार्जमा बिना मगरलाई जिम्मेवारी तोकिएको थियो ।
जुनियरलाई सहईन्चार्ज बनाएको भन्दै सोही दिनबाट विरोध गरेका माओवादीका नेताहरूले आज धनगढीमा भएको छलफल पनि बहिष्कार गरेका छन् । हेमराज भट्टराई, हरि ज्ञवाली, नेपबहादुर चौधरी, विरमान चौधरी र भगत बडूवालले सामूहिक रुपमा बैठक बहिष्कार गरेका हुन् ।
प्रदेश इन्चार्ज पोख्रेल, सहईञ्चार्ज मगरको उपस्थितिमा केन्द्रीय सदस्य तथा प्रदेश सचिवालय सदस्यहरूको बैठकका लागि एजेन्डा तयार गर्न बसेको छलफल पाँच जना सिनिअर केन्द्रीय सदस्यहरूले बहिष्कार गरेका हुन् ।गत स्थायी समितिको प्रदेशको सङ्गठन सम्बन्धी गरेको निर्णयमा असहमति जनाउँदै उक्त निर्णय नसच्चिएको भन्दै बैठक बहिष्कार गरेको धर्मराज भट्टराईले जानकारी दिए ।
‘सुदूरपश्चिम प्रदेशको सङ्गठन सम्बन्धी गरिएको निर्णय अवैज्ञानिक छ अवस्तुवादी छ । त्यस कारणले यो बेठीक छ यो सच्चाइनु पर्छ भन्ने हाम्रो माग हो’, उनले भने, ‘सिनियर कमरेडहरूलाई बाहिर राखेर जिम्मेवारी दिने प्रक्रियाबारे गम्भीर भएका थियौँ । हामीले हाम्रो कुरा राख्यौँ र बाहिर निस्कियौँ ।’उनले स्थायी कमिटी बैठकले गरेको उक्त निर्णय सच्चाउन समेत माग गरे । यस अघि नै उक्त निर्णय प्रति असहमति जनाउँदै प्रदेश इन्चार्ज, केन्द्रीय नेतृत्व लगायतलाई जानकारी गराइएको समेत उनले बताए ।
‘आफ्नो माग राख्यौँ प्याकेजमा हल गरिनु पर्छ भन्यौँ । सिनिअर साथीहरूको मनोविज्ञानमा असर पर्ने गरि गरिएको निर्णय स्वीकार्य हुन सक्दैन’, उनले भने ।यस अघि प्रदेश अध्यक्षले पार्टी अध्यक्षसँग छलफल गर्ने बताएको तर, आजको छलफलमा स्थानीय कमिटी बैठकले गरेकै निर्णय अनुसारको धारणा आएपछि पाँच जनाले सामूहिक धारणा राखेर बैठक बहिस्कार गरेका हुन् ।पाँच जनाले बैठक बहिस्कार गरेपनि अन्य बहुमत सिनियर केन्द्रीय सदस्यहरूको छलफल जारी रहेको थियो । उक्त छलफल केन्द्रीय सदस्यहरूको बैठकको एजेन्डा र प्रदेश सचिवालय सदस्यहरूको बैठकको एजेन्डा तय गर्ने जनाइएको छ ।