धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी नाउपा) का लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।यसअघि विना विभागीय मन्त्रीको शपथ लिएका चौधरीलाई बिहीबार जिम्मेवारी दिएपछि उनले पदभार ग्रहण गरेका छन्।
सामाजिक विकास मन्त्री चौधरीले जनताले दिएको म्यान्डेट अनुसार नै सरकारमा सहभागी रहेको बताए। आफ्नो पार्टीले एक वर्ष पहिलेदेखि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएकोले हाल पदभार ग्रहण गर्नु सरकार सञ्चालनको प्रक्रिया मात्रै रहेको मन्त्री चौधरीले बताएका हुन् ।उनले भने, ‘सङ्घीय सरकार होस या प्रदेश सरकार, पार्टी चलाउने हो या जनताबाट चुनिएका जनप्रतिनिधिले हो भन्ने हो । जनताले हामीलाई म्यान्डेट दिइसकेका छन् सरकार तपाईँहरू चलाउनुस् भनेर ।
त्यही म्यान्डेट हामी पालना गरिरहेका छौ । पार्टीले सल्लाह सुझाव दिन सक्छ ।’ त्यस्तै, उनले आफूले पाएको जिम्मेवारी सुदूरपश्चिमका जनताको हितमा हुने बताएका छन् । बुधबार मात्रै टीकापुरमा बसेको नाउपाको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर त्यसको एक दिन नबित्दै नाउपाका एकथरी मन्त्री सरकारको मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।
नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिममा पनि एमाले-माओवादीसहितको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट मुख्यमन्त्री शाहले नाउपाका मन्त्रीको जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री शाहले बुधबार राति सरकारमा सहभागी नाउपाका मन्त्रीहरूसँग छलफल गरी विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेका थिए ।