कैलाली। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई जना विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ। हिजो राति मुख्यमन्त्री कमल बहादुर शाहले दुई विनाविभागीयमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्द् कार्यालयमा नाउपकामा सबै मन्त्रीको उपस्थितिमा लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवार तोकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिए । दुबैले हिजै पत्र बुझिसकेको र आज कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।
नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले पनि दुईमन्त्रीको जिम्मेवारी तोकेको पुष्टि गरे । मुख्यमन्त्रीसँगको छलफलमा विनाविभागीय मन्त्री लक्ष्मण चौधरीले काम गर्ने गरि जिम्मेवारी दिन भनेका थिए । नत्र राजीनामा दिने चेतावनी पनि उनले दिएका थिए ।’झण्डा हल्लाउने मात्रै मन्त्रीको काम होइन काम गर्ने गरि मन्त्रालय तोक्नु प¥यो,’ स्रोतले मुख्यमन्त्रीलाई मन्त्रीले भनेको कुरा उद्दित गर्दै भन्यो ‘हामीलाई सडकछाप मन्त्री भन्न थालिसके कि जिम्मेवारी दिनुहोस् होइन भने राजीनामा दिन्छु भन्नुभयो ।’
सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । तीमध्य पाँचजना मन्त्री नियुक्त भएका छन् । अहिले काङ्ग्रेस नेतृत्वको सरकारमा १८ सांसद रहेको काङ्ग्रेसबाट मुख्यमन्त्री सहित २ मन्त्री छन् भने ७ सांसद रहेको नाउपाबाट ४ मन्त्री र एक राज्यमन्त्री छन् । माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि नाउपाले साथ दिदापनि अझै २ सांसदको अभाव छ । नाउपामा पनि अहिले काङ्ग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा विवाद छ । पार्टी केन्द्रले नयाँ गठबन्धनमा जाने निर्णय गरेको छ भने प्रदेश संसदीय दलका बहुमत सदस्य काङ्ग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिन चाहन्छन् ।