काठमाडौँ। प्रहरी महानिरीक्षक वसन्त कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री समेत रहेका रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्र परेको जवाफ दिएका छन्।
बुधबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा आइजीपी कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध ठाडो उजुरी परे पनि त्यसमा तथ्य प्रमाण केही नभएको बताएका हुन् ।साथै उनले लामिछानेको समेत नाम जोडिएको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिलेसम्म ५ जना पक्राउ परेको जानकारी दिए। ‘सुर्यदर्शन ठगीमा ५ जना पक्राउ परेका छन् १५ जना फरार रहेका छन्’, आइजीपी कुँवरको भनाइ छ ।
यस्तै उपप्राधन तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दिएका छन्। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको बताए। सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि गर्ने अन्य कुनै तथ्य नरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो । उनले अनुसन्धानमा आफूले प्रभाव नपार्ने पनि बताए ।
कांग्रेस सांसदहरूले सहकारीमा गृहमन्त्री लामिछानेको नाम आएको भन्दै अनुसन्धान हुने बेलासम्म पदबाट हट्न भनेका थिए । जवाफमा लामिछानेले कांग्रेस सरकारमा हुँदा नै उजुरी आएको र तथ्य नभेटिएको स्पष्ट भएकाले आफ्नो प्रभाव अनुसन्धानमा नपर्ने बताए । सहकारीका विषय आएका छन् । एउटा सहकारीमा मेरै नाम भएको भन्ने आयो । जहाँ मेरो नाम छ, त्यहाँ नामबाहेक केही छैन। हस्ताक्षर, ल्याप्चे, केवाईसी केही छैन । न कुनै पत्र पाएको छु, न कुनै मुद्दा आएको छ,गृहमन्त्री लामिछानेले भने,अदालतमा मुद्दा गएको छ । मुद्दामा म प्रतिवादी छैन, भएका प्रतिवादीको बयानमा रवि लामिछाने भन्ने नाम उल्लेख छैन ।