धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एमाले-माओवादी र रास्वपासहितको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ। बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो।
संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेको जानकारी दिए । नाउपाका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराका अनुसार यो निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ। २१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए।
प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको बिक बताउँछन्।बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाश चौधरी, विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता रहेको थियो। यसैगरी संस्थापक रेशम चौधरी पनि सहभागी थिएनन् उनी कार्यक्रमका लागी जापानमा रहेका छन् ।
यसअघि नाउपाका संरक्षक रेशमलाल चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासको मत दिन ह्ववीप लगाएकी थिइन्। सुदूरपश्चिम प्रदेशमा संरक्षक रेशमलाल चौधरीको जोडबलमा नाउपाका पाँच जना सांसद कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बनेका छन् । अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेश संसदीय दलले भने मुख्यमन्त्री कमलबहादुर शाहलाई नै समर्थन गर्ने निर्णय गरेको थियो ।यो सँगै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको पद धरापमा परेको छ ।