धनगढी। पछिल्लो समय कैलालीमा आत्महत्या गर्ने बालबालिकाको संख्या बढ्दै गएको पाइएको छ। मुख्यतया व्यस्त जीवनशैली र पारिवारीक कलह आमाबुवाको उचित हेरचाह कमी,मोबाइल लगायतका प्रविधीमैत्री उपकरणको प्रयोग बढ्नु, शैक्षिक असफलता तथा रिसालु स्वभावका कारण बालबालिकाहरुले आत्महत्याको बाटो रोजेको कैलाली प्रहरी तथ्यांकले देखाएको छ।
चालु आर्थिक वर्षको हालसम्म समेत गरेर १५ वर्षमुनीका ३१ जना बालबालिकाले आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकले उल्लेख गरेको छ। ३१ जना बालबालिका मध्ये १० जना बालक र २१ बालिका रहेका छन्। आर्थिक वर्ष २०७८/७९ मा चार बालक र छ बालिका गरि १० जना, आर्थिक वर्ष २०७९/८० मा दुई बालक र १० बालिका गरेर १२ र चालु वर्षको हालसम्म चार बालक र पाँच बालिका गरेर ९ जनाले आत्महत्या गरेका छन्।
त्यसमा गोदावरी र गौरीगंगा नगरपालिकाका मात्र ६ जना बालबालिका रहेको जिल्ला प्रहरी कार्यायका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले बताए। प्रहरी उपरीक्षक(एसपी) बिष्टले विभिन्न कारणले बालबालिकामा आत्माहत्या गर्ने दर बृद्धि हुँदै गएको बताए । शैक्षिक असफलता, आमाबुवाको बहुविवाह, कुलत,अभिभावकको हेरचाहको अभाव जस्ता कारणले बालबालिकाले आत्महत्या गर्ने गरेको पाइएको उनको भनाई छ ।
उनले अध्ययन र अन्य कामप्रतीको असफलता, पारीवारिक वातावरण, बहुविवाह, उचित पालनपोषण र हेरचाहको अभाव, कुलत, अभिभावकको रेखदेख नहुनु बेरोजगार, वैदेशिक रोजगारी, प्रेम सम्बन्ध जस्ता कारणले बालबालिकाले आत्माहत्या गर्ने गरेको देखिएको बताए । उनीहरुको उचित रेखदेख र नियन्त्रण गर्ने, कुलतमा फसेकाहरुलाई पुनःस्थापना केन्द्रमा राख्ने, सामाजिक आचरण सुधार गर्ने, अभिभावकले स्वदेशमै रोजगारी गर्ने गरेमा न्यूनीकरण गर्न सकिने उनले जानकारी दिए ।
नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर गणेश खड्काले पारीवारिक तथा व्यक्तिगत कारणले बालबालिकामा डिप्रेशन बढ्दै गइरहेकाले त्यसैले आत्माहत्या गर्ने सोचको विकास गर्ने गरेको बताए । खासगरि बालबालिकाहरुले आफूभित्रको तनावलाई व्यक्त गर्न नसक्ने हुँदा पनि यो दर बृद्धि भएको उनको भनाई छ । उनका अनुसार बच्चामा घर वा स्कुलमा विभिन्न किसिमका तनावले डिप्रेशन गरेको छ ।पारीवारिक कलह, झगडा, आर्थिक अभाव, प्रेम सम्बन्धमा धोका, सानैमा लागुऔषध दुर्व्यशनीमा फस्दै गएको बताए । बच्चाले तनाव व्यक्त गर्न नसक्ने, अभिभावकले पनि थाहा नपाउँदा झुण्डिने, विष सेवन गरेर आत्माहत्याको बाटो रोज्ने गरेको उनले भनाई छ ।
बालबालिकाको आत्माहत्याको दरलाई न्यूनीकरण गर्न सबैले आ–आफ्नो पक्षबाट प्रयास गर्नुपर्ने सुझाब छ।अभिभावकले बालबालिकालाई निगरानीमा प्रविधियुक्त उपकरण चलाउन दिने, उचित हेरचाह, मायामोह गर्ने, यातना तथा कुटपिट जस्ता कार्य नगरेमा आत्माहत्याबाट उनीहरुलाई जोगाउन सकिने सुझाब छ।यस्तै स्थानिय तथा प्रदेश सरकारबाट सचेतना जगाउने कार्यक्रम, डिप्रेशन पहिचान गर्ने भनेर विद्यालयमा शिक्षक र अभिभावकलाई तालिम दिने, बालबालिकालाई सचेत गराउने तथा मनोपरामर्श लगायतका कार्यक्रम गर्न सकिने बताए ।