धनगढी। कञ्चनपुर र कैलालीबाट अवैध लागु औषधसहित पाँचजना पक्राउ परेका छन्। आइतबार कञ्चनपुरको भिमदत्त नगरपालिका–१० सुकाशालस्थित सडकबाट खैरो हेरोइन १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–५ बस्ने २२ वर्षीय धिरज विष्ट, कृष्णपुर नगरपालिका–३ बस्ने २१ वर्षीय दिनेश विष्ट, शुक्लाफाँटा नगरपालिका–१० बस्ने २८ वर्षीय रोशन चन्द र भिमदत्त नगरपालिका–१ बस्ने २६ वर्षीय प्रदिप परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुपप्र ०२००१ ह २२३० नम्बरको अटोलाई जाँच गर्न क्रममा अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–५ बस्ने २७ वर्षीय करन चौधरी रहेका छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।