काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिबी राई जहाँ भएपनि समातेर ल्याउने प्रतिबद्धता जनाएका छन्। शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले आकाश,पाताल जहाँ भएपनि जिबी राईलाई समातेर ल्याउने बताएका हुन् ।
उनले जिबी राईले गरेका हरेक कामसँग आफ्नो नाम जोडिएकोमा आपत्ति जनाए। आफूले ग्यालेक्सी टिभीमा काम गरुन्जेल सम्बन्ध रहेपछि टिभी छोडेपछि सम्बन्ध सकिएको बताए। उनले सहकारीबाट पैसा लिएका व्यक्तिको ब्याज सहित फिर्ता नगरासम्म आफूले राजनीतिबाट विश्राम नलिने दाबी गरे। जो जहाँ, देश वा विदेशमा लुके पनि समातेर ल्याउने लामिछानेले बताए। बरु कांग्रेसका नेताहरुले बोलाएको ठाउँमा गएर सहकारीको अनियमितताबारे बहस गर्न तयार रहेको बताए।
उनले अघि भने, ‘खल्तीमा राजीनामा बोकेर हिंडेका छौं ।’ सहकारीको विषयमा भने आफूले पार्टीभित्र र सञ्चारमाध्यममा प्रष्ट भन्ने गरेको बताए ।संसदमा भने कांग्रेसले आफूलाई सुन्न नचाहेको भन्दै गृहमन्त्री लामिछानेले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु, प्रभावशाली नेताहरुलाई । तपाईं कहाँ, कहिले र कुन मितिमा बोलाउनु हुन्छ, खुला ठाउँमा बहस गर्न चाहख्छु ।’
‘तपाईंले भनेको ठाउँमा बोलाउनुस्, भए भरको सम्पूर्ण प्रमाण लिएर आउनु होला । तपाईंकै निर्वाचनको क्षेत्रका मान्छेको अगाडि बहस गर्न चाहन्छु,’ आफूमाथि प्रश्न गर्ने कांग्रेस महामन्त्री गगनकुमार थापातर्फ संकेत गर्दै गृहमन्त्री लामिछानेले भने, ‘यो बहस काठमाडौंको क्षेत्र नम्बर ४ मा भयो भने मलाई अझ सहज हुन्छ । त्यहाँका मतदाताले थाहा पाउनुपर्छ, जसलाई ठगीको आरोप लगाइएको छ, ठगी त्यसले गरेको छ अरु कसैले गरेको छ र? ’ उनले कुन मुद्दामा आफूलाई प्रतिवादी बनाइएको छ, त्यो देखाउन समेत कांग्रेसलाई चुनौती दिए ।