बझाङ। बझाङको जयपृथ्वी नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर-६ नौरामा शुक्रवार राति साढे ९ बजेको समयमा घरमा चट्याङ लाग्दा एकै परिवारका ७ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले मृत्यु हुनेमा ५२ वर्षीय गजेन्द्र बहादुर सिंह रहेको बताए। चट्याङ लागेर घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्रबहादुर सिंह, उनको श्रीमती २५ वर्षीया निशा सिंह, छोरी १८ महिनाको कृतिका सिंह रहेका छन्।
यस्तै धनबहादुर सिंहकी श्रीमती ४० वर्षीया पञ्चादेवी सिंह, उनको छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेका छन्। घाइते सबैको हात खुट्टाहरुमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए। मृतकको शव पनि जिल्ला अस्पताल सिमखेत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरु मध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।