कैलाली। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले सेती लोकमार्ग निर्माणमा दबाब दिने र बर्दगोरिया धामलाई चिनाउन भूमिका खेल्ने बताएका छन्।
कैलालीको बर्दगोरिया गाउँपालिकामा शुक्रवारदेखि सुरु भएको छैटौँ बर्दगोरिया सेती लोक मार्ग पहिचान महोत्सवको उद्घाटन गर्दै मन्त्री देउवाले सो कुरा बताएका हुन् । मन्त्री देउवाले महोत्सवले त्रिदेशीय सिमाना जोडने सेती लोकमार्ग निर्माणमा दबाब दिने र बर्दगोरिया धामलाई चिनाउन भूमिका खेल्ने दावी गरे।
भौतिक मन्त्री देउवाले कमल शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले विगतदेखि नै सेती लोकमार्ग लगायतका गौरवका आयोजना निर्माणलाई तीव्रता दिन संघीय सरकारसँग पहल गरिरहेको बताए । ‘सुदूरपश्चिममा राष्ट्रिय गौरवको आयोजना सेती लोक मार्ग, महाकाली कोरिडोर र धनगढी दिपायल द्रुत मार्ग निर्माण आयोजना चाँडो निर्माण गर्नका लागि र आवश्यक बजेट व्यवस्थापनका लागि अर्थमन्त्री, सडकको क्षेत्राधिकारमा पर्ने रुख कटानका लागि बन मन्त्री र पटक पटक प्रधानमन्त्रीसँगको भेटमा हामीले गम्भीरता पूर्वक यी आयोजनाका बारेमा कुरा उठाएका छौ ’ उनले भने, ‘मुख्यमन्त्रीज्यूले प्रधानमन्त्रीको चिन भ्रमण र भारत भ्रमणका क्रममा सेती लोक मार्ग निर्माण एजेन्डाका रुपमा लैजान परराष्ट्र मन्त्री र प्रधानमन्त्रीसँग लविङ्ग गर्नु भएको थियो ।
’उनले भने,‘पहाडी जिल्ला जोडने भिमदत्त राजमार्ग मात्रै छ कुनै कारणले राजमार्ग अवरुद्ध भएमा पहाडी जिल्लाको यातायात सम्पर्क विभेद हुन्छ । कैलाली डोटी, अछाम, बाजुरा र बझाङ ग्रामीण क्षेत्र तथा भारत र चिनको नाका सम्म जोडने यो सडक त्रिदेशीय व्यापार लगायत अन्य सामरिक दृष्टिकोणले समेत महत्त्व रहेको छ ।’ उनले सेती लोक मार्ग सुदूरपश्चिम प्रदेशका लागि लाइफलाइन रहेको भन्दै निर्माणमा तीव्रता दिइने बताए । कैलाली डोटी, अछाम, बाजुरा र बझाङका ग्रामीण क्षेत्र तथा भारत र चीनको नाका सम्म जोडने यो सडक त्रिदेशीय व्यापार लगायत अन्य सामरिक दृष्टिकोणले समेत महत्त्व रहेको मन्त्री देउवाले बताए ।
‘ सुदूरपश्चिमबाट भारतको सिमाना जोडने र तराईको कैलाली देखि चीनको सिमाना जोडने सबै भन्दा छोटो दुरीको ३५९ किलोमिटर रहेको छ ’ उनले भने, ‘ यो सडक निर्माणपछि त्रिदेशीय व्यापार व्यवसाय र बझाङ, बाजुरा अछामका मानिसहरूले छोटो दुरीमा यात्रा गर्न पाउँछन् । ’
बजेटको अभाव, रुख कटानीमा ढिलाइ, पुलको डिपिआर नबन्दा र स्थिर सरकार नहुँदा समस्या भएको भन्दै मन्त्री देउवाले तमाम समस्याका बिचमा सडक निर्माणमा तीव्रता दिन आवश्यक रहेको औँल्याए ।अहिले यो आयोजनालाई दुई भागमा विभाजन गरिएको छ । सेती लोक मार्ग टिकापुर देखि चैनपुर सम्म २४२ किलोमिटर दक्षिण खण्ड र चैनपुर उरै भन्ज्याङ ११७ किलोमिटर उत्तर खण्ड गरि दुई खण्डमा विभाजन गरि कार्य भइरहेको छ । ‘यसको द्रुत गतिमा निर्माणकार्य अगाडि बढाउन आवश्यक पहल गर्न सुदूरपश्चिम प्रदेश सरकार प्रतिबद्धता छ ’ मन्त्री देउवाले भने ।
‘अहिले राष्ट्रिय सत्ता राजनीतिमा केही परिवर्तन देखिएको छ, तर पनि हामी सुदूरपश्चिम प्रदेश सरकारको वर्तमान नेतृत्वलाई कायम राखने तिर अगाडि बढी रहेका छौँ । हामी स्थिर सरकारका लागि प्रदेश सभामा रहेको राजनीतिक दल सँग निरन्तर संवादमा छौँ । हाम्रो सरकारले एक वर्षमा नीतिगत र कानुन सुधार र सुशासन र विकासलाई एउटा लयमा अगाडि बढाएका छौँ । जनताको असीमित आकाङ्क्षालाई सीमित स्रोतसाधन मार्फत पुरा गर्ने प्रयास गरेका छौ ।चाडै हामी सुदूरपश्चिम प्रदेश सभाबाट विश्वासको मत लिएर सरकारलाई थप बलियो र स्थायित्व प्रदान गर्ने मन्त्री देउवाले बताए ।