धनगढी : नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले अहिले कांग्रेस सत्ताबाट बाहिर निस्किएपछि छाती पिटीपिटी रोएको टिप्पणी गरेका छन् । एमाले डडेल्धुराको नवौँ जिल्ला अधिवेशनलाई उद्घाटन गरी फर्केका ओलीले धनगढीमा सञ्चारकर्मीहरु संग कुरा गर्दै कांग्रेसले सरकारबाट हट्नु परेको पीडाको छटपटिँदै रुँदै के भन्छ त्यसलाई धेरै महत्त्व दिनु नहुने समेत बताए । गृहमन्त्री रबी लामिछानेको प्रशगमा बोल्दै उनले उजुरी पर्दैमा उसलाई दोषी भन्न नमिल्ने बताए ।
‘उजुरी दर्ता तपाईँको नाममा पनि हुन सक्छ’ ओलीले पत्रकारलाई भने, ‘उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ, संसद् खाली हुन्छ सबै खालि हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि । ’ कांग्रेसका मन्त्रीहरू झन्डा छोपेर अख्तियारमा बयान दिएको गएको भन्दै उनले नेपाली काङ्ग्रेसमा नैतिकताको कुनै अर्थ नरहेको टिप्पणी गरे । ‘एउटा बोलाइको लागि गोकुल बास्कोटा र शेरबहादुर तामाङले राजीनामा दिनुभएको थियो तर, कांग्रेसका मन्त्रीहरू झन्डा छोपेर अख्तियारमा बयान दिएको पनि सुनिएकै हो ’ ओलीले भने, ‘ नेपाली काङ्ग्रेस नैतिकताको कुनै अर्थ छैन। सत्ता पक्षमा हुँदा एउटा प्रतिपक्षमा हुँदा अर्को कुरा गर्छ । ’
ओलीले नयाँ सत्ता गठबन्धनबाट पुरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन् । उनले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडी नसरेको टिप्पणी गर्दै प्रचण्ड नै पुरै कार्यकाल प्रधानमन्त्री रहन सक्ने आशय व्यक्त गरेका हुन् । ‘अहिले मलाई त्यति मन पनि लागेको छैन । अरू केही अगाडी पनि सरेका छैनन्। के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त ’ ओलीले पत्रकार सम्मेलनमा भने । गृहमन्त्री रबी लामिछानेको विषय पदबाट राजीनामा दिनु पर्ने सम्मको नभएको उनको तर्क थियो । ‘ उनी सहकारी डुबाउने कुरामा लागेका छन् ? पैसा उठाउने सञ्चालन हुन् ? केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ’ ओलीले भने ‘नेपाली काङ्ग्रेसतिर रबी लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा रबी लामिछानेलाई बदनाम गर्न खोज्ने फसाउने काम गरिएको हो ।’
सुन तस्करीको अनुसन्धानका लागि एमालेले छानबिन आयोग बनाउन गरेको प्रस्ताव सही रहेको अहिले ठहर भएको ओलीको भनाइ थियो । ‘आयोग बनाउँदा काङ्ग्रेसले अड्को हाल्यो ’ उनले भने ‘एमालेले त्यो बेला गरेको माग ठिक थियो भन्ने कुरा आज पनि प्रमाणित भएको छ ।’ उनले अनुसन्धानका लागि कुनै व्यक्ति पक्राउ पर्दा त्यसले गठबन्धनमा कुनै पनि प्रभाव नपर्ने जिकिर गरे । महाकाली कोरिडोर निर्माणमा तीव्रता दिन आवश्यक रहेको उनले बताए ,।