धनगढी : सडक कालोपत्रेका लागी पर्याप्त बजेट नहुने भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सडक ग्राभेल र पानी पिच लाई अभियानका रुपमा अगाडी सारेको छ । नगरपालिकाले प्रत्येक बर्ष ९ वटै वडामा ५÷५ किलोमिटर सडक पानी पिच गर्दै छ । हरेक वडामा माग अनुसार नगरपालिका आफैले पानी पिच गर्न थालेपछि ५ बर्षे कार्यकालमा ग्राभेल तथा पानी पिच युक्त नगर भन्ने अपेक्षामा जनप्रतिनिधी छन् । भौगोलिक हिसाबले ठुलो तर आर्थिक हिसाबले निकै न्युन आम्दानी भएको कृष्णपुर नगरपालिकाले कम लागतमा बढी उपलब्धी देखाउने उद्देश्यले आफै ग्राभेल तथा पानी पिच थालेको छ । बिगतमा सडक पानी पिच र ग्राभेल समेत उपभोक्ता समितिबाट गरिने परम्परालाई तोड्दै नगरपालिकाले आवश्यक उपकरण खरिद गरी आफै सडक पानी पिच शुरु गरेको हो ।
नगरपालिकाले परिक्षणका लागी वडा नम्बर १ मा पानीपिच गरिसकेको छ । बिगतको अभ्यास अनुसार उपभोक्ता समितिबाट एक किलोमिटर पानीपिच गर्दा १० लाख बजेट खर्च हुने देखियो । नगरपालिका आफै गर्दा १० लाख बजेटमा १० किलोमिटर बराबर ग्राभेल तथा पानी पिच भएको छ । नगरपालिकाका अनुसार हाल आवश्यक पर्ने लोडर, ग्रेडर, भ्याकु र टिप्पर खरिद गरेको छ । हाल थप ३ टिप्पर भाडामा लिएर नगरपालिका आफैले प्रत्येक वडामा पानीपिच गरिरहेको छ । हाल ८ र ९ नम्बर वडामा पानीपिच गरिरहेको नगरले बिगतको तुलनामा खर्च कम र उपलब्धी बढाएको छ । ५ बर्षे आफ्नो कार्यकालमा जनप्रतिनिधीहरु सबै वडा पानीपिच युक्त बनाउने उद्देश्यमा छन् । हामीले हरेक सडक पिच त बनाउा सक्दैनौँ, न हाम्रो बजेट बढी छ न आम्दानीनै नगर प्रमुख हेमराज ओझाले भने “अब जनताका समस्या समाधान त गर्नै पर्छ, बिगतमा गरिने पानीपिच र ग्राभेलको बजेट बालुवामा पानी हालेझैँ भइरहेको थिये, किन भने उपभोक्ता समितिबाट पानीपिच गरिने, अधिकाशं क्षेत्रमा मापदण्ड बिपरित भएको पनि पाइयो, त्यो एक बर्षपनि नटिक्ने, अर्को बर्ष फेरी त्यही सडकमा बजेट हाल्नुपर्ने स्थितीको अन्त्य गर्न नगरपालिका आफैले आवश्यक, लोडर, ग्रेडर, भ्याकु, टिप्परहरु खरिद गरेका थियौँ, त्यसपछि वडामा पठाइएको बजेटबाट पानीपिच गरिरहेका छौँ, अहिले गाडीको इन्धन, ग्राभेलको रोयल्टी र मजदुरको पारिश्रमिक मात्रै दिनु परेको छ ।” पहिलाको तुलनामा निकै कम खर्च भइरहेको ओझाले बताए । अहिले खर्चपनि कम छ, थोरै बजेटमा धेरै पानीपिच गर्न पाइएको छ ओझाले भने “र सडक बिग्रेको ठाउँमा मर्मतका लागी आफ्नै उपकरणहरु छन्, तिनलै मर्मत गर्दै जान्छ, हामीले बर्षै प्रत्येक एउटै बाटोमा बजेट खन्याइ राख्नु पर्दैन, बजेटको सदुपयोग गर्दै धेरै सेवा दिन खोजिएको हो, हाम्रो लक्ष आफ्नो कार्यकाल भित्र केही सडक पिच र सबै सडक पानीपिच गर्ने हो ।”
करिब बार्षिक ८ करोड मात्रै आन्तरिक आम्दानी रहेको कृष्णपुर नगरपालिकाले बिगतमा सो आम्दानीको रकमले ग्राभेल समेत गर्न भ्याएको थिएन । न्युन आम्दानी त्यसैमा उपभोक्ता समितिबाट गरिने काम पारदर्शी नभएपछि नगरपालिकाले नयाँ कदम चालेको छ । यो कदमबाट बार्षिक ५० लाख बजेटमा ४५ किलोमिटर सडक पानीपिच हुने छ कृष्णपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिनेश खड्काले भने “बिगतमा १० लाख बजेटले १ किलोमिटर पिच हुन्थेन, कर्मचारी, जनप्रतिनिधी, ठेकेदारको त्यही बजेटमा मस्ती हुन्थ्यो, अहिले त्यही बजेट सदुपयोग भएको छ, कम बजेटमा धेरै सुबिधा दिन पाएका छौँ, वडा पानीपिच युक्त बनाउन सहज हुनुका साथै आर्थिक मितब्ययितापनि कायम भएको छ ।” यस्तै वडा नम्बर ९ का अध्यक्ष कैलास बलायरले नगरको खर्च बढी र उपलब्धी कम देखिन थालेपछि आवश्यक उपकरण खरिद गरेको बताए । हामीले यि उपकरणबाट जनतालाई सहज सडक मार्ग बनाउन खोजिरहेका छौँ उनले भने “यि उपकरणको सदुपयोग गरेर थोरै बजेटमा भएपनि जनतालाई धेरै सेवा दिन खोजिरहेका छौँ, पक्कै यो पानीपिचले यहाँका नागरिकको दैनिकि परिवर्तन हुने छ ।”
कृष्णपुर नगरपालिकाकी उप प्रमुख द्रोपति रानाले बिगतमा पानीपिच र ग्राभेलका “बिगतमा ग्राभेल र पानिपिच कमाउने क्षेत्र रहेछ उनले भनिन् “हामी आएपछि त्यो प्रबृती हटाएर नगर आफैले काम थालेपछि कामको परिणाम देखिरहेको छ, यस्तै परिणाम देखिने गरी हामी सबै वडासम्म पानीपिच पुगाउने छौँ ।” गाउँ गाउँमा पानीपिच शुरु भएपछि स्थानिय बासिन्दालाई आवतजावतमा सहज भएको छ । पहिला खाल्टाखुल्टी र हिलाम्य सडकको यात्रा गर्न बाध्य थियौँ कृष्णपुर नगरपालिका ८ का रगंलाल चौधरीले भने “अहिले पानीपिचले यात्रामा सहज बनाएको छ, कामकाज र बिद्यार्थीहरुलाई सजिलो भएको छ ।” वडा नम्बर ८ कै स्थानिय भक्त बहादुर चौधरीले नगरपालिकाले आफै पानीपिचको काम गर्नु राम्रो कदम भएको बताए । बिगतमा पानीपिचका नाममा कमाउने तर जनताले सेवा नपाउने स्थिती थियो उनले भने “अहिले थोरै लगानीमा बढी उपलब्धी गर्नुका साथै निर्माणपछि सडकमा आउने समस्या पनि छिट्टै समाधान गर्न सजिलो भइरहेको छ ।”
पछिल्लो समय कृष्णपुर नगरपालिकाले पानीपिच र ग्राभेललाई जोड दिए जस्तै शिक्षा र स्वास्थ्यमा समेत उत्तिकै प्रार्थमिकता दिएको छ । निशुल्क स्वास्थ्य सेवा देखी, आमा शुरक्षा कार्यक्रमपनि कृष्णपुरले सञ्चालन गरेको छ । यसका साथै बिद्यालय समायोजन गरी शैक्षिक गुणस्तर सुधारमा समेत कृष्णपुरले प्रार्थमिकता दिएको छ ।