धनगढी : उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले सुदुरपश्चिमको औधोगिक बिकासका लागी दोधरा चाँदनी सुख्खा बन्दरगाह र दैजी छेला औधोगिक क्षेत्र जस्ता योजनाले प्रार्थमिकता पाउनुपर्ने बताएका छन् । मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले पछिल्लो एक बर्षमा सुदुरपश्चिमको उधोग बिकासमा कुनै लगानी नभएको बताएका हुन् ।
मन्त्री भण्डारीले १ बर्ष अघी ४० दिने मन्त्री भएका बेला आफुले थालेका काममा समेत कुनै प्रगती नदेखेको बताए । दैजी छेला औधोगिक क्षेत्रको कार्यालय उद्घाटन गरेकोमा त्यसपछि कुनै प्रगती नभएको उनले बताए । यस्तै दोधरा चाँदनी सुख्खा बन्दरगाहको काममा पनि कुनै प्रगती नभएको उनले बताएका हुन् । यि मात्रै नभएर सुदुरपश्चिममा बिभिन्न खानीको समेत सम्भावना रहेको बताउँदै भण्डारीले पछिल्लो १ बर्ष यहाँको औधोगिक बिकासमा लगानी नभएको दावी गरे । भण्डारीले अब दैजी छेला औधोगिक क्षेत्र संगै दोधरा चाँदनी सुख्खा बन्दरगाहको काम समेत अघी बढ्ने प्रतिबद्धता गरे ।
सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई समेत केन्द्रित गरेर मन्त्रालय सोही प्रकारका कार्यक्रम बनाइरहेको भण्डारीले बताए । भण्डारीले कानुनी अड्चनका कारण केही काम रोकिएको बताउँदै उधोग तथा अन्य मन्त्रालयबाट समेत कानुनी गाँठो फुकाएर काम अघी बढाइने प्रतिबद्धता गरे । अहिलेपनि नयाँ उधोग स्थापना, खानी उत्खनन्, क्रसर उधोग लगायतका कानुनी समस्याका कारण अख्तियार देखी अदालतसम्म मुद्धा परिरहेको परिवेशलाई ध्यानमा राखेर उधोगमैत्री कानुन निर्माणमा समेत ध्यान दिइने भण्डारीले बताए ।
विशेषगरि सुदूरपश्चिमका खानीहरुको अध्ययन तथा उत्खननको कामलाई प्राथमिकताका साथ गर्ने भण्डारीको भनाई छ । भण्डारीले सुदूरपश्चिममा रहेका प्राकृतिक खानीको अध्ययन तथा उत्खनन्को काम अघि बढाउने बताएका हुन् । सुदूरपश्चिममा फस्फोरसको ठुलो सम्भावना छ । म त्यसको अध्ययन र उख्खननका लागि लाग्नेछु’ भण्डारीले भने,‘सुदूरका फलाम, तामा र अन्य खानीहरु मेरो प्रार्थमिकतामा रहने छन ।’ १४ महिनापछि दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका भण्डारीले विगतमा थालनी गरेका काम जहाँको त्यही रहेकाले तिनलाई पनि अघि बढाउने उल्लेख गरे । यस्तै उनले कैलालीको हरैयामा सेजको कामलाई पनि अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।