धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट निर्माण गरिएको बसकोटा खानेपानी आयोजना हस्तान्तरण गरिएको छ ।कैलाली गोदावरी नगरपालिका ४ बासकोटा खानेपानी उपभोक्ता समितिको दोस्रो वार्षिक साधारण सभा तथा खानेपानी हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले कोही पनि नागरिक स्वच्छ पिउने पानीबाट वञ्चित हुन नहुने बताए ।
‘नेपालको संविधानमा स्वच्छ वातावरण, खानेपानी तथा सरसफाइ सेवालाई मौलिक हकका रुपमा स्थापित गरेको छ । यसलाई प्रदेशका सबै नागरिकको खानेपानी पहुँच सहित गुणस्तरीय खानेपानी पुर्याउने प्रदेश सरकारको लक्ष्य रहेको छ । त्यसका लागि प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय निरन्तर खानेपानी आयोजनाको विकास तथा विस्तार गरि रहेको छ’उनले भने ।
भौतिक मन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारको ०८०।०८१ को नीति तथा कार्यक्रममा सबैलाई आधारभूत स्तरको खानेपानी सेवामा पहुँच सुनिश्चित गर्न एक घर एक धारा कार्यक्रम रहेको स्मरण समेत गराएका थिए । भूमिगत जल सतह तथा पानीका सतही श्रोतहरू घट्दै गइरहेको क्षेत्र, खानेपानी सेवाबाट वञ्चित तथा विपन्न बस्तीहरूमा खानेपानी आपूर्तिको विशेष व्यवस्था गर्ने नीति प्रदेश सरकारको रहेको उनले बताए ।
‘संघिय, प्रदेश र स्थानीय तहको समन्वयमा तथा सहकार्यमा खानेपानी, सरसफाइ तथा स्वच्छता गुरुयोजना तयार गरी कार्यान्वयन गरिने, मध्यम तथा उच्चस्तरको खानेपानी सेवाको स्तरबृद्धि गर्न समुदायमा आधारित खानेपानी आयोजनालाई प्राथमिकता साथ अगाडि बढाई रहेको छ’ उनले भने, ‘सामुदायिक विद्यालय एवम् स्वास्थ्य संस्थालाई विशेष प्राथमिकता दिई यसै आर्थिक वर्ष भित्र गुणस्तरीय खानेपानीका लागि फिल्टर सहितको खानेपानी व्यवस्था गरि रहेको छ, भने समुदायमा खानेपानीको गुणस्तर सुधार कार्यक्रम सञ्चालन गर्न बजेटमा व्यवस्था गरेको छ । ’
हाल सम्म यस प्रदेशमा आधारभूत स्तरको खानेपानी सुविधाको पहुँच ८६।५३ प्रतिशत जनसङ्ख्याको पहुँच पुगी सकेको छ । प्रदेशका सबै जिल्ला तथा पालिकाहरू खुल्ला दिशामुक्त घोषणा भै आधारभूत सरसफाइ सुविधाको उपयोग गरिरहेका भन्दै उनले दिगो भरपर्दो गुणस्तरीय खानेपानी तथा सरसफाइ सुविधा सबै नागरिकलाई पुर्याउने प्रदेश सरकारको पञ्चवर्षीय योजनाको लक्ष्य रहेको बताए ।
‘विशेष गरि खानेपानी व्यवस्थापनको अहिलेको मुख्य चुनौती भनेको साना सहरी खानेपानी आयोजनाहरूको दिगो र भरपर्दो तथा बढ्दो खानेपानी सुविधाको मागलाई व्यवस्थापन गर्नु हो ’ भौतिक मन्त्री देउवाले भने, ‘साना सहरी खानेपानी संस्थाले लगानीको सावाँ र व्याज भुक्तानी गर्नु, खानेपानी ओभरहेड टङ्कीबाट शुद्ध खानेपानी नागरिकको घर घर पुर्याउनु समिति जनशक्ति तथा श्रोत साधनहरूबाट सञ्चालन गर्नु, सडक निर्माण गर्दा खानेपानी सँग समन्वय नभई हुने क्षति मुख्य चुनौतीका रुपमा रहेका छन् । ’यी समस्या समाधानका लागि तीन तहका सरकार मिलेर समाधान गर्नु पर्नेमा उनले जोड दिए ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढी कैलाली र बसकोटा खानेपानी उपभोक्ता समिति बिच उक्त आयोजना निर्माण गर्न आर्थिक वर्ष ०७३।०७४ मै सम्झौता भएको थियो ।०७९।०८० सम्ममा सक्ने गरि ५ करोड६१ लख ११ हजार २०० रुपैयाँ लागत अनुमान गरिएको यस योजनामा ४ करोड ९४ लाख १३ हजार ६९ रुपैयाँ खर्च भएको छ ।
४ करोड ६४ लाख १३ हजार ६९ सरकारले लगानी गरेको छ भने ३० लाख जनश्रमदान गरिएको छ । यस आयोजनाबाट १ हजार ३५९ घरधुरीका ८ हजार १२० जना लाभान्वित हुने बताइएको छ ।