एजेन्सी। इटलीमा एक जना महिलामाथि कम्तिमा पनि १७ पटक गर्भधारणको झुठो नाटक गरेको आरोप लागेको छ। गएको २४ वर्षमा १ लाख १० हजार यूरो बराबरको सुत्केरी भत्ता लिन महिलाले गर्भधारणको नाटक गरेको खुलासा भएको हो।
१७ मध्ये १२ ओटा गर्भधारणमा बच्चा जन्मिन सकेनन् भन्ने र ५ ओटामा बच्चा जन्मिएको झुठो प्रमाणपत्र पेश गरिएको थियो। पछिल्ला २४ वर्षमा बारबरा लाएल नाम गरेकी ५० वर्षीय महिला १७ पटक गर्भवती भइन् । यसका कारण उनले वर्षौसम्म सुत्केरी बिदा लिइन् भने सरकारले दिने सुत्केरी भत्ता बापत पनि ठूलो रकम लिइन् । ती महिलाले बुझाएको कागजपत्रका अनुसार १२ पटकसम्म गर्भ तुहियो, अन्य पाँच पटकमा भने उनले ५ ओटा सन्तानलाई जन्म दिइन्।
तर न त ती बच्चाको कतै जन्मदर्ता भएको छ न त कसैले तिनीहरूलाई देखेकै छन्। कान्छो बच्चालाई बारबराले गएको वर्ष डिसेम्बरमा जन्म दिइएको बताइएको छ। तर पछिल्लो गर्भधारणयता उनी अधिकारीहरुको निगरानीमा थिइन् । उनी गर्भवती नै नभएको प्रमाण अधिकारीहरुले फेला पारेका छन्। बारबराले १ लाख १० हजार यूरो कुम्ल्याउन र कामबाट बिदा लिन गर्भवती भएको नाटक गरेको अधिकारीहरुको आरोप छ।
आफ्नो झुटलाई सत्य साबित गर्न महिलाले रोमका क्लिनिकहरुबाट जन्मदर्ताको प्रमाणपत्र चोरेकी थिइन् भने नक्कली कागजपत्र बनाएकी थिइन्। डाक्टरको हस्ताक्षर पनि उनी आफैंले गरेकी थिइन्। उनी पेट भुक्क देखाउन पेटमा तकिया हालेर हिड्थिन् । उनी गर्भवती महिला जस्तै गरी हिँड्थिन्। बारबराले सन् २००० देखि नै यस्तो काम गर्न थालेकी थिइन्।
१६ पटकसम्म त उनी त्यो नाटक गर्न सफल भइन्। तर गतवर्ष उनको झुठ पर्दाफास भयो। त्यसपछि श्रम प्रहरीले उनका सबै अघिल्ला गर्भधारणबारे छानबिन शुरु गरे । बारबरा गर्भवती नभएको भन्नेबारे सन् २०१२ देखि नै थाहा भएको सोधपुछको क्रममा बारबराका पार्टनरले भनेका छन्। सजाय घटाउन उनले बारबराविरुद्ध बयान दिने भएका छन् ।