धनगढी। नेकपा एमाले कैलालीको सुख्खडमा भईरहेको नवौं जिल्ला अधिवेशनअन्तर्गत मतदान जारी रहेको छ। कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा आज बिहान ८ बजेबाट सुरू भएको मतदान बेलुकी ५ बजेसम्मका लागि तय गरेको छ।
दिउसो १ः४५ बजेसम्मका लागि मतदानको समय तोकिए पनि मतदान नसकिने देखेपछि निर्वाचन अधिकृतको कार्यालयले त्यो समय बढाएर बेलुकी ५ बजेसम्मका लागि तय गरेको हो । मुख्य निर्वाचन अधिकृत मान बहादुर जोराले दिएको जानकारी अनुसार दिउसो २ः ३० बजेसम्म २४० जनाले मतदान गरेका छन ।
निर्वाचन अधिकृतको कार्यालयले २० मतदान केन्द्र तोकेको छ।एमालेको जिल्ला नेतृत्व चयनका लागि जिल्लाभरीबाट ५९१ प्रतिनिधि चयन भएका थिए । कैलाली जिल्लाको आगामी नेतृत्वका लागि डेजी पाण्डे, यज्ञराज ढुंगाना र दुर्गाप्रसाद जोशी प्रतिस्पर्धामा छन्। उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन।सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन।
चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन ।उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजालको उमेदवारी परेको छ। त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी,अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् । खुला,भुगोल, विभिन्न कलस्टरमा १४५ जना सदस्य पदमा दोब्बर बढी उमेदवारी परेकाले मतदानमा ढिलाई भईरहेको छ ।