काठमाण्डौ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.केशरजङ्ग बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरिएको उनको सचिवालयले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो। उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवम् अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो।
शैक्षिक योग्यताको आधार,तालिम,अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवम् प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ। पोखरा-१० का बासिन्दा बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयको उपकुलपति भएका थिए। उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन सङ्कायका प्राध्यापक छन्। प्रा.डा. बरालले भारतको दिल्ली विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गरेका छन्।