धनगढी : पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले अहिले नेताहरुमा पदको लोलुपता बढेकाले राजनीति धमिलिएको बताएका छन । बैतडी समाज कैलालीको पाँचौ साधारण सभाको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री चन्दले अहिलेको राजनितिमा पद लोलुपता बढिरहेका कारण राजनिति फोहोरी खेल बनेको बताए । अहिले मानिसलाई पद मात्रै चाहिन्छ की झैँ भएको छ चन्दले भने “मानिस पद र सम्पतिको पछि मात्रै दगुरिरहेको हुन्छन्, अहिले त्यो राजनितिमा बढी देखिएको छ, शरिरले साथ दिदैन तर पनि पदमा जान लालायीत हुन्छ । सम्पत्तीको पछि दगुरिरहेको हुन्छ । बढी सम्पत्ती भयो भने पनि सुख र मनमा शान्ति हुदैन । अहिले नेताहरुमा पद र सम्पत्तीको लोभ जागेकाले राजनीति धमिलियो ।” मान्छेसंग सम्पति, पद जती भएपनि अन्तमा चाहिने जनताको माया रहेछ, त्यो मैले धनगढीमा पाए उनले भने “सुदुरपश्चिमले हिजो मलाई जुन सम्मान दियो त्यो नै मेरो उपलब्धी हो ठानेको छु, जनताले माया गरेको नेता हुन पाउनु नै ठुलो कुरा हो ।”
पुर्व प्रधानमन्त्री चन्दले बैतडी समाजबाट भइरहेका सामाजिक कामको प्रसंसा समेत गरे । बैतडी समाज जसतै धनगढीमा धेरै समाजहरु छन्, उनले भने “तपाइहरु सबै मिलेर समाजसेवा संगै समाजलाई सही दिशामा ल्याउन समेत योगदान दिन सकिन्छ, समाज समाजिक सेवाका लागी हुन् भने सबैको उद्देश्य एउटै हुनुपर्छ तपाइहरु एक भएर समाज बदल्न लाग्नुहोला भन्ने अनुरोध गर्न चाहान्छु ।”
बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षतामा भएको साधारण सभामा सभाका उपाध्यक्ष गजेन्द्रबीर चन्दले स्वागत गरेका थिए । प्रमुख अथिति चन्दले पानसमा दीप प्रज्वलन गर्दै साधारण सभाको उद्घाटन गरेका थिए । पाँचौ साधारणसभा तथा तेश्रो अधिवेशनबाट पुनः अध्यक्षमा माया प्रकास भट्ट सर्बसम्मतबाट चयन भएका छन् । सोही अवशरमा समाजको बार्षिक कार्यक्रम अन्तर्गतको रक्तदान महोत्सव समेत आयोजना गरिएको थियो । रक्तदान महोत्सवबाट ५२ पिन्ट रगत संकलन भएको रक्तदान महोत्सवका संयोजक राजु चन्दले बताए । हामी बर्षेनी दुई पटक रक्तदान महोत्सव गर्ने गरेका छौँ यो दोश्रो कार्यक्रम हो उनले भने “बर्षको दुई पटक हुने रक्तदान महोत्सवमा बिगत झैँ राम्रो सहभागिता रह्यो आगामी दिनमा हाम्रा सामाजिक कार्यमा सबैको सहयोग रहने अपेक्षा गरेका छौँ ।”