काठमाण्डौ। नेपालको सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको माघसम्म नेपाल सरकारको ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।
यसमध्ये ११ खर्ब ८४ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब दुई अर्ब २४ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।सरकारले चालु आर्थिक वर्षको सात महिनामै दुई खर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको छ । साउनदेखि माघसम्मको सात महिनामा दुई खर्ब दुई अर्ब ४३ करोड रुपैयाँ ऋण थपिएको छ। सात महिनामा सरकारले एक खर्ब ५० अर्ब ३१ करोड रुपैयाँ आन्तरिक र ५२ अर्ब १२ करोड ६ लाख रुपैयाँ बाह्य ऋण लिएको छ ।
यस्तै सात महिनामा सरकारले एक खर्ब ५५ अर्ब २४ करोड रुपैयाँ ऋण तिरेको छ । आन्तरिकतर्फ एक खर्ब ३० अर्ब ११ करोड र बाह्यतर्फ २५ अर्ब १३ करोड रुपैयाँ ऋण तिरेको कार्यालयले जनाएको छ ।सात महिनामा सरकारले एक खर्ब १० अर्ब रुपैयाँ साँवा भुक्तानी गरेको छ। यस्तै ४४ अर्ब १४ करोड रुपैयाँ ब्याज मात्रै तिरेको छ । नेपालको तिर्न बाँकी सार्वजनिक ऋणको आकार वार्षिक बजेटभन्दा छ खर्ब ३५ अर्ब रुपैयाँभन्दा धेरै भएको छ।
पछिल्लो पाँच वर्षमा मात्रै सरकारी ऋण दोब्बर भएको छ। आर्थिक वर्ष २०७५/७६ मा सरकारी ऋण १० खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ बराबर थियो। यस्तो ऋण बर्सेनि बढेर आर्थिक वर्ष २०७६/७७ मा १४ खर्ब ३३ अर्ब, आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ३७ अर्ब र आर्थिक वर्ष २०७८/७९ मा २० खर्ब १३ अर्ब रुपैयाँ पुगेको थियो। सरकारले लिएको ऋण पुँजी निर्माणमा भन्दा पनि साधारण खर्च टार्न खर्च गर्दा यसले गतिलो परिणाम नदिने अर्थविद्हरूले चेतावनी दिएका छन्। अर्थविद् डिल्लीराज खनालका अनुसार सरकारको असक्षमताले गर्दा ऋण काढेर ऋण तिर्नुपर्ने अवस्था आउनु खतराको सङ्केत हो ।