बाजुरा। बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने पक्की पुल चर्किएपछि एक पटक एउटा गाडी मात्र गुडाउन पाइने भएको छ ।
बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्ने साइनबोर्ड टाँस गरिएको छ । दुई वर्षअघि बनेको ६० मिटर लम्बाइ भएको सो पुलका लागि पाँच करोड ९६ लाख १२ हजार १३० रुपियाँ लगानीमा रोजेन्द्र थेगिम जेभी कैलालीले निर्माणको जिम्मा लिएको थियो ।
पुलको लोड टेस्ट गर्दा एउटा मात्र गाडीलाई आउजाउ गर्न सहज भएकाले अहिले एक पटकमा एउटा मात्र गाडी हिँड्ने गरेर साइनबोर्ड टाँस गरेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ । सडक डिभिजन कार्यालय अछाम र पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले पुलमा १५्१५ टनका तीन गाडी हाल्दा पुल चर्किएपछि एक पटकमा एउटा मात्र गाडी गुडाउन साइनबोर्ड टाँस गरिएको जनाएको छ ।
उक्त पुल मात्रै होइन बाजुराका अन्य करोडौँ रुपियाँका भौतिक पूर्वाधार निर्माणका योजना पनि ठेकेदारको लापरबाहीका कारण अस्तव्यस्त हुने गरेका छन् । म्याद थपिन्छ काम लम्बिन्छ । यस विषयमा सरोकारवाला निकायलाई भने कुनै चासो नभएको स्थानीय बताउँछन् । सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी आकाश श्रेष्ठले ४५ टनको भार लोड धान्नुपर्ने सो पुलले लोड धान्न नसकेपछि एक पटक एउटा मात्र गाडी चल्ने गरेर बोर्ड टाँस गरेको बताए ।