बाजुरा। बाजुरामा घाम नलाग्दा वाणिज्य बैंकको कोल्टी शाखाको सेवा अवरुद्ध भएको छ। जिल्लाको कोल्टीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा घाम नलागेको दिनमा कारोबार नै बन्द हुने गरेको हो।
बैंकमा सौर्य ऊर्जाबाट बत्ती जोडिएको तर ब्याट्री बिग्रेका कारण चार्ज टिक्दैन। त्यसैले घाम लागेका बेला मात्र सेवा दिन सकिने शाखा प्रबन्धक सुदामा शाहीले बताइन्। सोलारको ब्याट्री डाउन हुँदा स्थानीयस्तरको बत्तीको कुनै भर नहुने उनले बताइन्। आइतबार यस क्षेत्रमा विहानैदेखि घाम लागेको छैन।
त्यसैले सेवाग्राहीले पैसा राख्ने, झिक्ने जस्ता सेवा लिन सकेका छैनन्। वृद्धभत्ता झिक्न १० बजे नै बैंकमा पुगेकी बुढीनन्दा नगरपालिकाकी सौतेनी सार्की १२ बजेसम्म लाइन बसिन्। ६८ बर्षीया उनी भन्छिन्, ‘गाउँमा हिउँ परिरहेको छ। यता पानी परेको छ। यो चिसोमा बैंकमा पैसा निकाल्न चार घण्टा लाइनमा बसेँ । बत्ती नभएर पैसा झिक्नै पाइएन।’ब्याट्री डाउन भएर सौर्य ऊर्जाबाट काम नभएकाले जेनेरेटर खरिदका लागि लागि केन्द्रीय कार्यालयमा पत्राचार गरेको शाखा प्रमुख शाहीले बताइन्।
राष्ट्रिय वाणिज्य बैंकको कोल्टी शाखामा बूढीनन्दासहित बाजुराका पूर्वी उत्तरी क्षेत्रका चारवटा स्थानीय तह र हुम्ला, मुगु तथा कालीकोटका बासिन्दाले पनि सेवा लिने गरेका छन्। विमानस्थल पनि भएकाले कोल्टी बाजुरा, हुम्ला, मुगु र कालीकोटको ब्यापारिक केन्द्रसमेत हो। बैंकको सेवा सञ्चालनका लागि बुढीनन्दा नगरपालिकासँग पनि जेनेरेटरका लागि सहयोग मागेको तर नपाएको शाखा प्रमुख शाहीले बताइन्। स्थानीय ब्यापारी जनम धामी बैंकमा जेनेरेटर जरुरी भए पनि कतैबाट पहल हुन नसकेको बताए। यता,कोल्टी शाखामा तत्काल सोलारको ब्याट्री खरिद गर्न शाखालाई भनिसकेको र जेनेटरका लागि केन्द्रमा पहल भइरहेको राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रदेश प्रमुख राजेन्द्र आचार्यले बताए।