बैतडी। बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन्। पाटन नगरपालिका–५ धनचुलीकी ७० वर्षीया दुरा जोशी जंगली बँदेलको आक्रमण परि घाइते भएकी हुन्।
मंगलवार (हिजो) दिउँसो बाख्रा चराउन घर नजिकै बारीमा गएकी जोशीलाई जंगली बँदेलले आक्रण गरेर गम्भीर घाइते बनाएको पाटन नगरपालिका–५ की सदस्य पार्वती चन्दले बताइन्। घाइते जोशीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।पछिल्लो समयमा जंगली बँदेलहरुले मानवबस्तीमै पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।
बैतडीमा अहिले सम्म चितुवा,जंगली बँदेल तथा बाँदरको आक्रमणबाट २० जना भन्दा बढी गम्भीर घाइते तथा अङ्गभङ्ग भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मदनप्रसाद जोशीले बताए। उनका अनुसार यो बर्षमात्रै बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन्।